ओलीको आलोचना गर्नासाथ पार्टीबाट ‘आउट’

ओलीको आलोचना गर्नासाथ पार्टीबाट ‘आउट’

पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेखेवापत नेकपा एमालेका नेताहरू धमाधम कारवाहीमा पर्न थालेका छन् । 

एमाले कोशी प्रदेश कमिटीले तीन जनालाई पार्टीबाट निकालेको छ भने दुईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कारवाही भोग्नेमा इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरी,कोशी प्रदेश कमिटीका सल्लाहकार ध्रुव सिवाकोटी र मनोरथ तिवारी छन् । 

पत्रकारको नाकको डाँडी भाँच्ने अभिव्यक्ति दिएर चर्चा र विवादमा आएका चौधरी गत आम निर्वाचनमा एमालेले टिकट नदिएपछि माओवादीमा प्रवेश गरेका थिए । चुनावपछि फेरि पुरानै घर फर्किएका उनले पछिल्लो समय नेतृत्व परिवर्तनको पक्षमा लेखिरहेका थिए । त्यसपछि उनलाई पार्टी हित विपरित काम गरेको भन्दै जिल्ला कमिटीको सिफारिसमा प्रदेशले ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बनको कारवाही गरेको हो । 

कारवाहीमा परेका सिवाकोटी पनि पूर्व मेयर हुन्। उनीमाथि आफ्नै घरमा काम गर्ने किशोरी बलात्कार गरेको आरोप छ । झापाका तिवारीलाई पार्टी अनुशासन तोडेको आरोप लगाइएको छ । 

एमालेमा अध्यक्ष ओलीविरुद्ध अभिव्यक्ति दिनेहरू यसअघि पनि कारवाहीमा पर्ने गरेका थिए ।  गत वर्ष मंसिरमा बाँके १(ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई पनि पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा कारवाही गरिएको थियो । 

उनीमाथि अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको मानहानी हुने सामग्री फेसबुकमा पोष्ट गरेको आरोप लगाइएको थियो । माओवादी छोडेर एमालेमा लागेका चौधरी लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री भैसकेका व्यक्ति हुन् ।

 त्यसअघि प्रदेशस्तरीय नेता तथा कोशी प्रदेशका पूर्वसांसद विमल कार्की पनि कारवाहीमा परेका थिए । अध्यक्ष ओलीको मानहानी हुनेगरी स्ट्याटस लेखेको आरोप थोपरेर उनलाई पार्टीबाट निलम्बन गरिएको हो ।

टिप्पणीहरू