झापामा तिब्बतीहरुको ओइरो

झापामा तिब्बतीहरुको ओइरो

झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईस्थित पाल्युल देछेन छोईलिङ गुम्बामा जारी एक महिने धार्मिक अनुष्ठानका कारण सो क्षेत्रमा तिब्बतीहरूको ओइरो लागेको छ । कार्तिक २४ देखि शुरु पूजा पौष ४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

पूजा समापनका दिन हजारौं बौद्ध धर्मावलम्बीको भीड लाग्ने अनुमान गरिएको छ । अहिले नै भारतको धर्मशालादेखि कर्नाटक,सिक्किम र दार्जिलिङका तिब्बती भक्तजन टिमाई क्षेत्रभरि डेरा जमाउँदै पूजास्थल वरपर छरिएर बसेको देखिन्छ ।

अनुष्ठानको नेतृत्व दक्षिणी भारतको नाम्द्रोलिङ गुम्बाका वरिष्ठ खेन्पा खेन्छेन नाम्द्रोल रिम्पोछेले गरिरहेका छन्। उनी चीनको तिब्बतबाट भागेर दक्षिण भारतमा शरण लिएर बस्दै आएका छन् । 

पूर्वाञ्चलकै ठूलो मानिने उक्त गुम्बामा बौद्ध धर्मावलम्बीहरुको संख्या बढेसँगै स्थानीय जनजीवनमा चहलपहल देखिएको छ । गुम्बा परिसर र टिमाई आसपासका बस्तीहरू तिब्बतीभाषी भक्तजनले भरिएको छ ।

टिप्पणीहरू