काँग्रेसभित्रकाे दीर्घ रोग

काँग्रेसभित्रकाे दीर्घ रोग

नेपाली राजनीति पुनः त्यही मोडमा आइपुगेको छ, जहाँ इतिहासले चेतावनी दिँदै छ तर नेतृत्वले सुन्न मानेको छैन। प्रमुख राजनीतिक दलहरू, विशेषतः नेपाली काँग्रेस, अहिले गम्भीर आत्मसमीक्षाको तहमा छन् । तर दुर्भाग्य, समीक्षा नेताहरूले होइन, कार्यकर्ताले गरिरहेका छन्। पार्टीको दोस्रो र तेस्रो तहका नेताले साढे दुई दशकअघिका गिरिजाप्रसाद कोइराला र गोविन्दराज जोशीलाई सम्झनु कुनै संयोग होइन । यो वर्तमान नेतृत्वको असफलताको प्रत्यक्ष प्रतिक्रिया हो ।

वर्तमान नेताहरू पदमा टाँसिनमै व्यस्त छन्, तर विगतका नेताहरू जिम्मेवारी लिन तयार थिए। डोल्पाको दुनैमा माओवादीको आक्रमणका बेला सेनाले सहयोग नगरेको भन्दै पत्रकार सम्मेलन गरेर गृहमन्त्री गोविन्दराज जोशीले पदत्याग गरेका थिए। सेनाले सरकारलाई पटक–पटक धोका दिइरहेको स्पष्ट देखिन्छ। हिजो पनि त्यो नैतिकताको स्तर आज कल्पनातीत जस्तै लाग्छ। रोल्पाको होलेरीमा घेरा हालेताका पनि केही परिणाम नआएपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले नैतिकता देखाउँदै कुर्सी छाडेका थिए। उनकै शब्दमाः “सुरक्षा संयन्त्रले नै साथ नदिएपछि सत्तामा बस्नुको अर्थ छैन।” 

सेना राष्ट्रको सुरक्षा, सार्वभौमता र हितका लागि समर्पित संस्था हो, तर राष्ट्रलाई चलाउने वैध अधिकार सरकारसँग भएकाले सेना सधैं निर्वाचित सरकारको आदेशमा सञ्चालन हुनु लोकतान्त्रिक सिद्धान्तको आधारशिला हो। सरकारका निर्देशनपछि मात्र शक्ति प्रयोग हुने प्रणालीलाई नै नागरिक सर्वोच्चता भनिन्छ, जसले राज्यलाई स्थिर बनाउँछ, सैन्य शक्तिको दुरुपयोग रोक्छ र लोकतन्त्रलाई सुरक्षित राख्छ। यदि सेना सरकारको आदेशविपरीत चल्यो भने शक्ति सन्तुलन भंग हुन्छ । नागरिक स्वतन्त्रता जोखिममा पर्छ र देश अराजकता वा अधिनायकतर्फ धकेलिन सक्छ। त्यसैले सेना आफ्नो कर्तव्य—राष्ट्र रक्षा, सीमा सुरक्षा र आपतकालीन सहयोग—मा केन्द्रित रहँदै राजनीतिक निर्णय र नीतिगत निर्देशन भने सरकारकै आदेशअनुसार कार्यान्वयन गर्नुपर्छ। यही व्यवस्था चल्दा देश बलियो रहन्छ, सरकार जिम्मेवार बन्छ, सेना मर्यादित रहन्छ र नागरिक समाज थप सुरक्षित हुन्छ।

तर यतिमा मात्र इतिहास रोकिन्न। भित्री पीडा अझ ठूलो छ। आजका काँग्रेस कार्यकर्ताको ठूलो आरोप छ कि गोविन्दराज जोशीलाई ‘विपक्षीले होइन, काँग्रेसकै नेताहरूले फसाएर’ पार्टीबाट निकालियो। तीन पुस्ते कांग्रेसका सच्चा सिपाही, जसले पार्टीलाई ज्यान दिन सक्ने नेतामाथि पार्टीकै भित्रबाट जालझेल, बलिदान, त्याग र योगदानभन्दा गुट र सञ्जालको राजनीति बलियो बनाइयो। त्यति मात्र कहाँ हो र? जोशीकै छोरा दीपकराज जोशी, जो आफैँमा क्षमतावान हुँदाहुँदै उनलाई मेयरको टिकट नदिएर स्वतन्त्र रूपमा चुनावमा प्रतिस्पर्धा गर्दा मरणासन्न बनाउँदै हमला गरियो। भनिन्छ, पाप धुरीबाट कराउँछ; शायद कांग्रेसलाई त्यही पाप लागेको छ होला। यही अन्याय नै आजको काँग्रेसको चरित्र घातक मोडमा फर्किएको प्रमुख कारणका रूपमा चिनिएको छ।

अर्कोतर्फ, एमाले अध्यक्ष ओलीले भदौ २३–२४ मा सुरक्षा निकाय निष्क्रिय भएको आरोप लगाएपछि, एमालेभित्र कतिपय नेताले पनि गिरिजाको ‘नैतिक राजनीति’ सम्झन सुझाएका छन्। तर विडम्बना, पुरातन दल मात्रै होइन, नवगठित र पुनर्गठित दलका नेताहरू पनि कुर्सी नछाड्ने रोगबाट मुक्त छैनन्। ‘परिवर्तनको राजनीति’ भन्दै आएका दलहरू पनि पुरानै संस्कारमा अडिएका छन्।

जेन जेड आन्दोलनले सुरक्षा निकाय र शक्तिकेन्द्रमाथि प्रश्न उठाए, तर पुराना दलहरूले त्यो आन्दोलनले उठाएको मूल प्रश्न—नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्र—पूर्ण रूपमा बेवास्ता गरिदिए। आजका युवा कार्यकर्ताहरू स्पष्ट भन्छन्, “कार्यकर्ता र बलिदानी नेतालाई अपमान गर्ने, जालझेल गर्ने, गुटबन्दी चलाउने दलहरू भविष्यमा जनताको भरोसा जित्न सक्दैनन्।”

अहिलेको राजनीतिक चुनौती के हो भने देश शून्यतिर गएको छ, तर दलहरूको नेतृत्व पुरानै मानसिकतामा अडिएको छ। पद छाड्नु, नयाँ पुस्तालाई अवसर दिनु, आन्तरिक भ्रस्टाचार र जालझेल अन्त्य गर्नु आजका आवश्यक कामहरू हुन्। तर विडम्बना, नेताहरूले त्यही गर्न नचाहँदा दलहरू राजनीतिक ट््याकबाट भत्किँदैछन्।

यदि वैचारिक अनुशासन, बलिदानी नेताको सम्मान, नैतिकतामा आधारित नेतृत्व, र नयाँ पुस्ताप्रति भरोसा पुनस्र्थापित हुन सकेन भने काँग्रेस मात्र होइन, पुराना दलहरूको भविष्य इतिहासकै माटोमा विलीन हुँदै जानेछ। देशको राजनीतिक दिशानिर्देश नेताले दिने हो; तर नेतृत्व नै दिशाहीन भयो भने आन्दोलन, कार्यकर्ता र इतिहासले पनि त्यस्तो दललाई क्षमा गर्दैन।

कांग्रेसको अहिलेको दुर्दशा कुनै एक–दुई कारणको परिणाम मात्रै होइन। गोविन्दराज जोशी, खुमबहादुर खड्का जस्ता अनुभवी नेताहरूको योगदान, त्याग र भूमिकालाई मूल्यांकन गर्न नसक्नु—नचिन्याउनु पनि एउटा गहिरो कारण बनेको छ।

यी नेताहरूले कठिन राजनीतिक यात्रामा पार्टीका लागि खेलेको भूमिका, संकटका घडीमा उभिएको नेतृत्व, र संगठनलाई बलियो बनाउन गरेका प्रयासहरूलाई पछि आउने पुस्ताले आत्मसात गर्न सकेनन्। पार्टीभित्रको अनुशासन कमजोर हुँदै गयो, आन्तरिक लोकतन्त्र क्षीण हुँदै गयो, अनि पार्टीप्रतिको समर्पणभन्दा व्यक्तिगत स्वार्थ हाबी हुन थाल्यो। परिणामतः अनुभव, त्याग र संस्थागत स्मृतिलाई बिर्सने संस्कृति जन्मियो।

आज कांग्रेसभित्र देखिने अविश्वास, गुटबन्दी र दिशाहीनता त्यसैको असर हो। जसले पार्टीलाई यहाँसम्म ल्याउन अथक परिश्रम गरे, इतिहास निर्माण गरे तर तिनीहरूलाई नै नचिन्ने, उनीहरूको मूल्य बुझ्न नसक्ने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनायो।

त्यसैले अहिलेको अवस्थालाई बुझ्न, समाधान खोज्न र पार्टीलाई पुनः उभ्याउन, अतीतका बलिया काँध, त्यागी व्यक्ति र सिद्धान्तमा अडिग नेताहरूलाई सम्मानपूर्वक सम्झनु, उनीहरूको भूमिकालाई स्वीकार्नु अत्यावश्यक छ।

-रमेश कार्की, हाल अमेरिका ।

टिप्पणीहरू