‘थर मिल्दैमा सबै नातेदार हुँदैनन्’
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहित नातेदारहरुलाई प्रधानमन्त्रीको निजी सचिवालयलगायत विभिन्न निकायमा भर्ना गरेको भन्ने विषयमा सचिवालयले खण्डन गरेको छ । एक विज्ञप्ति जारी गर्दै सचिावलयले कानुनसम्मत रुपमै कर्मचारी नियुक्ति गरिएको दाबी गरेको छ ।
शर्माले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहित केही नातेदारलाई आफूखुशी जागिर खुवाएको भन्दै हिजोदेखि सर्वत्र आलोचना भइरहेको सन्दर्भमा उक्त धारणा सार्वजनिक भएको छ । विभिन्न जेन जी समूहले ती सबैलाई तत्काल बर्खास्त गर्न माग गरिरहेको पृष्ठभूमिमा गलत प्रचार नगर्न आग्रह गरिएको हो । कर्मचारीको थर मिल्दैमा सबै परिवारको नातेदार नहुने सचिवालयको तर्क छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार कार्कीको परिवारमा वृद्ध श्रीमान (दुर्गा सुवेदी)मा मात्रै रहेको र नजिकबाट सहयोग गर्नुपर्ने भएकाले भरपर्दो व्यक्तिलाई नियुक्ति दिइएको हो । ‘प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति छनोट गरी नियुक्त गरिएको हो’, अपव्याख्या नगर्न आग्रह गर्दै रावलले भनेका छन्, ‘कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकाले त्यसो नगरिदिन हुन पनि अनुरोध छ।’
प्रधानमन्त्रीको सचिवालयमा ६७ जनाको दरबन्दी रहे पनि कार्कीले आर्थिक भार कम गर्न २० जनालाई मात्र नियुक्त गरेको जानकारी दिइएको छ । ‘विगतका सरकारहरुले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हाल सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाउनुभएको छ’, उनले थपेका छन् ।
टिप्पणीहरू