दुई महामन्त्री हलचल नहुने
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै नेतृत्वपंंक्तिलाई सन्देश पठाएका छन् । सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित चुनावमा जान नसकिने निचोडसहित उनले त्यसअघि नै नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।
डेढ महिनादेखि जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्न नसक्दा जनतामा गलत सन्देश प्रवाह हुन थालेको थापाको अनुभव छ । ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ, त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ,नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ’, कार्यकर्ताको जिज्ञासामा जवाफ दिँदै उनले भने, ‘नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,अब विशेष महाधिवेशनको विकल्प छैन, कुरा स्पष्ट छ,अलमलमा नपरौँ ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि नेतृत्वलाई दुई विकल्प दिएका छन् । उनका अनुसार पहिलो विकल्पमा केन्द्रीय समिति बैठकले पुस अन्तिम सातासम्म नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका बनाउनसक्छ । अर्को विकल्पबारे जानकारी दिदैँ भनेका छन्, ‘सभापतिज्यूले सुवर्ण समशेर पथ पछ्याउन सक्नुहुन्छ,त्यसले एकातर्फ पार्टीले निकास दिन्छ,अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिकाले उचाइ पाउँछ ।’
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरिसकेकोले चुनावअघि महाधिवेशन गर्नैपर्ने शर्माको जिकिर छ । उता राष्ट्रपति रामचन्द्र पौडेलले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेताहरुलाई छलफलको लागि शीतल निवास बोलाएको बुझिएको छ ।
टिप्पणीहरू