‘जय मातृभूमी पार्टी’ लाई बच्चा काखमा लिएकी आमा
जय मातृभूमी पार्टीले आधिकारिकता पाएको छ। राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरूको राष्ट्रिय सुरक्षा जागरण महाअभियान एकीकृत पश्चात् बनेको पार्टीलाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
आयोगका सचिव महादेव पन्थले पार्टी अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र ग्रहणपछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने तयारी रहेको अध्यक्ष कार्कीले बताए। उनले भने, “हामी पूर्व सुरक्षाकर्मी — राष्ट्रसेवक कर्मचारीहरू आबद्ध भएका छौँ। देशभर ८ लाखभन्दा बढी सदस्य छौँ। जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिन्छौँ। हामीलाई जनतामाथि विश्वास छ।”
अध्यक्ष कार्की पूर्व कार्यकारी महानिर्देशक (रासेद) तथा पूर्व मेजर जर्नेल समेत हुन्। उनी ४० वर्ष नेपाली सेनामा कार्यरत थिए । “देशको अवस्था देखेर हामी राजनीतिमा होमिन बाध्य भएका हौँ। कुशासनले देश नै नरहला कि भन्ने अवस्था आएको छ। मातृभूमि र नागरिकको सुरक्षाको लागि हामी मैदानमा आएका हौँ। नागरिक सचेत र जागरूक हुनु आवश्यक छ,” उनले भने।
महासचिव गोविन्द गिरीले विचार मिल्ने शक्तिसँग मिलेर फागुन २१ को निर्वाचनमा जाने सम्भावना बलियो रहेको बताए। उनले भने, “हाम्रो पार्टीमा विविध क्षेत्रबाट कुशलतापूर्वक राष्ट्रसेवा गरेका अवकाशप्राप्त योग्य नेता तथा विषय विज्ञहरू हुनुहुन्छ। उहाँहरूलाई काँध थाप्ने जेन–जी पुस्ताका साथीहरू पनि हुनुहुन्छ। अवसर पाए देशको नेतृत्व गर्ने क्षमता राख्छौँ।”
दर्ता नम्बर २२१ रहेको जय मातृभूमि पार्टीको चुनाव चिह्न बच्चा काखमा लिएकी आमा हो ।
टिप्पणीहरू