गुण्डुमा प्रकृतिको चरम दोहन
नाम विकास, काम विनाश ! पछिल्लो समय देशभर देखिएको समस्या हो यो । विकासको नाममा प्रकृतिको दोहन गर्ने कार्यले प्राथमिकता पाएको छ । जताततै डोजर चलाउने र भीरपाखाबाट माटो निकाल्ने काम भइरहेको छ । जसको एउटा नमूना भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डु पनि हो । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतको क्षेत्र हो त्यो । उनी त्यहीँ बस्दै आएका छन् ।
सो क्षेत्रमा विकासको बहानामा भीरहरुमा जथाभावी डोजर चलाइएको छ । डोजर लगाएर धमाधम माटो निकाल्ने काम भइरहेको छ । गुण्डु प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो । जंगलले घेरिएको सो ठाउँ पछिल्लो समय उजाड बन्दै गएको छ । सडक फराकिलो बनाउने नाममा जथाभावी डोजर चलाएर प्रकृतिको दोहन गरिएको छ ।
यता, स्थानीयलाई भने डाँडा भाँसिने त्रासले सताएको छ । काठमाडौं मोडेल स्कुलतर्फ जाने बाटोमा एउटा भीर नै काटिएको छ । सडकबाट भीर काटिएको छर्लङ्ग देखिन्छ । जसका कारण बर्खाको समयमा त्यहाँ पहिरो जाने जोखिम बढेको छ । अहिलेपनि त्यहाँ माटो खसिरहेको छ । विकासको नाममा अन्धाधुन्ध डोजर चलाउने प्रवृत्तिले त्यहाँका स्थानीय वाक्क बनिसकेका छन् ।
डाँडा काटिएको विषयमा स्थानीयले गुनासो नगरेका होइनन्, तर मेयरदेखि वडाध्यक्षसम्म एमालेको भएकाले सुनुवाई नभएको हो । हाल सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका वासुदेव थापा छन् । अघिल्लो कार्यकालमा पनि उनी नै मेयर थिए । यता, ७ नम्बरको वडाध्यक्षमा रविन्द्र सापकोटा छन् । उनी पनि एमालेकै हुन् ।
बस्नेतको क्षेत्र भएकाले स्थानीय खुल्ला रुपमा विरोध गर्न डराउँछन् । कार्की थरका एक स्थानीय भन्छन्,‘यिनीहरुले डाँडाकाँडा केही नछोड्ने भए । जता मनलाग्यो, त्यता डोजर चलाएका छन् ।’ त्यसैगरी, बस्नेत थरकै अर्का स्थानीयले त्यहाँ मात्र नभएर नगरपालिकाभित्र जताततै डोजर आतंक चलेको गुनासो पोखे ।
उनले भने,‘यहाँ मात्र होइन, नगरपालिका भित्र जताततै डोजर आतंक छ । डोजरले खन्छन्, माटो लिएर जान्छन् । सडक, भवन बनाउने भन्दै जथाभावी डोजर चलाएका छन् । तर, त्यसले प्राकृतिक विपत्ति निम्त्याउने जोखिमचाँहि बढेको छ ।’ वडाध्यक्ष सापकोटाले आफ्नो वडामा त्यस्तो कार्य नभएको दाबी गरे । उनले भने,‘हामीकहाँ त्यस्तो डोजर लगाएको ठाउँ नै छैन ।’ वडासदस्य ईश्वरबहादुर थापाले त्यहाँबाट माटो निकालिएको बताए ।
‘त्यहाँबाट माटो निकालिएको हो । वडा कार्यालय बाहिर खाल्डो थियो । माटो लगेर त्यहीँ पुरेका हौं’,जनआस्थासँग उनले भने । त्यसैगरी, उनले गत वर्षको बर्खामा त्यहाँ पहिरो गएको जानकारी दिए । अगाडि थपे,‘गत वर्षचाँहि पहिरो गएको थियो । यो वर्ष त्यस्तो भएन । अलिअलि माटोचाँहि खसेको छ ।’
वर्षैपिच्छे भत्काउँदै, बनाउँदै
वडा नम्बर–५, कटुञ्जेस्थित एकता मार्गभित्र हाल सडक निर्माण भइरहेको छ । गत वर्षदेखि सडक निर्माण गर्न थालिएकोमा अहिलेसम्म सम्पन्न भएको छैन । सडक निर्माणका लागि अघिल्लो वर्ष लाखौं रुपैयाँ बजेट विनियोजन गरिएकोमा डोजर लगाएर गाभ्रेल हाल्ने काम भयो । यसवर्ष फेरि उक्त सडकका लागि वडाले लाखौं रुपैयाँ बजेट छुट्याएको छ ।
रोचक प्रसंग के भने, अहिलेपनि त्यहाँ ग्राभेल नै हाल्ने काम भइरहेको छ । एउटै सडकका लागि वडाले वर्षेनि बजेट छुट्याइरहँदा कतै भने अवस्था दयनीय छ ।
टिप्पणीहरू