खगेन्द्र सुनारद्वारा अर्काको पार्टी हाइज्याक

खगेन्द्र सुनारद्वारा अर्काको पार्टी हाइज्याक

वाम राजनीतिका अग्रज राधाकृष्ण मैनाली संरक्षक रहेको ‘हाम्रो पार्टी नेपाल’ हाइज्याक भएको छ । बहुविवाह, कुटपिट, ठगी, चरित्रहत्यासहित कैयौं मुद्दा खेपिरहेका दलित अभियन्ता खगेन्द्र सुनारले उक्त पार्टी हाइज्याक गरेका हुन् । खर्गेन्द्रले सोमबार बाजागाजासहित निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । रोचक प्रसंग के भने, सो नामबाट १२ वर्षअगावै पार्टी खुलेको थियो । 

संरक्षक मैनाली रहेकोमा संयोजकमा गोविन्द बोहरा (ब्रम्हाण्ड) छन् । विगत १२ वर्षदेखि आफ्ना राजनीतिक एजेण्डाको प्रचारप्रसारसहित खुल्ला राजनीतिक गतिविधि गर्दै आएको थियो । सो पार्टीले २०८० पुस ९ र १० गते कोहलपुरमा प्रारम्भिक राष्ट्रिय भेलामार्फत ९ जनाको केन्द्रीय तदर्थ समिति गठन गरेको थियो । पुस २३ गते रिपोर्टर्स क्लबबाट राजनीतिक प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो । 

मुलुकको राजनीतिक अवस्था सुधार्नका लागि ‘अन्तरिम सर्वपक्षीय नागरिक सरकार’ बनाउनुपर्ने मागसहित केही समययता राजधानीको माइतीघर मण्डलामा आन्दोलन गरिरहेको छ । एकातिर उसले आन्दोलन गरिरहँदा अर्कोतिर खगेन्द्रले सोही नामबाट दल दर्ताको लागि निवेदन दिएका हुन् । जुन कुरा पार्टीका पदाधिकारीलाई जानकारी थिएन ।

फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ता गर्न कात्तिक २० गते पदाधिकारीहरू आयोग पुग्दा तीनछक्क परेका हुन् । कात्तिक १८ गते नै खगेन्द्रले दल दर्ताको निवेदन दिएको थाहा पाएपछि उनीहरूले मंसिर २४ गते आयोगमा निवेदन दर्ता गरेर नाम जुधेको जानकारी गराए । तर, आयोगले निवेदनमाथि कुनै सुनुवाइ गरेन । पटकपटक फोनमार्फत पनि कुरा राखे । त्यसका बाबजुद आयोगले खगेन्द्रको नाममा पार्टी दर्ता गरिदिएको हो ।

खगेन्द्रका नाममा पार्टी दर्ता भएसँगै संयोजक बोहरा वर्षौंको मिहिनेत अपहरण भएको गुनासो गर्छन् । जनआस्थासँग भने, ‘हाम्रो वर्षौंको मिहिनेत क्षणभरमै अपहरण भएको छ । निकै दुःख गरेर पार्टीलाई जनसमुदायमा स्थापित गराएका थियौं । पार्टीमार्फत धेरै अभियान भए तर निर्वाचन आयोगले नाम अर्कैलाई दियो ।’

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू