अकुत सम्पत्ति जोड्नेलाई विशेषको उन्मुक्ति, सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोग आज पनि विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ । विशेषबाट विभिन्न मितिमा भएका फैसलामध्ये एउटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाएकोसम्बन्धी मुद्दामा भएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिए । सार्वजनिक पदको दुरुपयोग गरेर अकुत सम्पत्ति जोडेको भन्दै दाङको लमहीस्थित जल उत्पन्न प्रकोश नियन्त्रण कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो ।
उनले गैरकानूनी रुपमा तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ सम्पत्ति कमाएको अख्तियारको दाबी छ । तर, विशेष अदालतको गत भदौ ६ गतेको फैसलाबाट इन्जिनियर रानाभाटले सफाई पाएका छन् । प्रमाण हुँदाहुँदै उनलाई उन्मुक्ति भएकोप्रति असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो । यसअघि बुधबार पनि विशेष अदालतबाट फैसला भएका दुईटा मुद्दाप्रति चित्त नबुझेपछि अख्तियारले सर्वोच्च गुहारेको थियो ।
टिप्पणीहरू