एमाले ताप्लेजुङमा सर्वसम्मत
नेकपा एमालेको ११औं महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोटमा तँछाडमछाडको अवस्था देखिँदा एमाले ताप्लेजुङमा भने सर्वसम्मत भएको छ । सबै जिल्लामा दुई खेमामा बाँडिएका एमाले नेता तथा कार्यकर्ताहरू महाधिवेशनकै लागि टोल तहसम्म भएको बहसमा विभाजित छन्। यसअघि गुटमा प्रष्ट नखुलेका कार्यकर्ता समेत यसपटक खुलेका हुन् ।
यस्तो अवस्थामा चुनावभन्दा सर्वसम्मति नै उपयुक्त हुने ठहर गर्दै ताप्लेजुङको नेतृत्व तहले गरेको पहलपछि सर्वसम्मतको अवस्था बनेको हो । सहमतिका लागि एमाले ताप्लेजुङका संगठन क्षेत्रका आधारस्तम्भ मानिएका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो र पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङको महत्वपूर्ण भूमिका रहेको धेरैको भनाइ छ ।
ताप्लेजुङबाट छानिएका प्रतिनिधिहरुमा खुलातर्फका छ जनामा अनन्त साँवा, घनेन्द्र मादेन, दीपेन्द्र पोमू, प्रकाश राई (कैलाश), छत्रपति प्याकुरेल र ज्ञानेन्द्र लावती हुन् । महिलातर्फ टीका सुवेदी, रनमाया गुरुङ, प्रमिला खनाल र मीना केदेम छन् भने दलिततर्फ बुद्धिमान परियार र युवाबाट गोपाल न्यौपानेको नाममा सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक राजकुमार चुँडालले जानकारी दिए ।
टिप्पणीहरू