विदेश गएका वैज्ञानिकहरु उतै बेपत्ता ...
अध्ययन बिदा लिने,गायब हुने । सरकारी सेवामा अध्ययन बिदाको दुरुपयोग बढ्दै गएको छ । राज्य कोषबाट पढ्न विदेश पुगेका वैज्ञानिकहरु उतै हराएपछि नेपाल कृषि अनुसन्धान परिषद्ले सार्वजनिक सूचना निकालेको छ ।
परिषदले आज सूचना निकालेर लामो समयको अध्ययन बिदापछि समेत गैरहाजिर रहेका डेढ दर्जन अनुसन्धानकर्ता (वैज्ञानिक) लाई सात दिने स्पष्टीकरण सोधेको छ । अध्ययन बिदा समाप्त भएको दुईदेखि ११ वर्ष बितिसक्दा समेत उनीहरु आफ्नो कार्यालयमा उपस्थित नभएको परिषदको ठहर छ ।
स्पष्टीकरण सोधिनेमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रका वैज्ञानिक अच्युत मिश्र,राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र खुमलटारका वैज्ञानिक होमन रेग्मी,राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सन्जिव गौतम, राष्ट्रिय बागबानी अनुसन्धान केन्द्रकी वैज्ञानिक प्रतिष्ठा अधिकारी, राष्ट्रिय पशु विज्ञान अनुसन्धानकी प्राविधिक अधिकृत अस्मिता श्रेष्ठ, राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान केन्द्रका वैज्ञानिक राजु चौधरी, राष्ट्रिय कीट अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत शुसिलकुमार गैरे छन् ।
यस्तै, कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश, सुनसरीका वैज्ञानिक नविनकुमार दंगाल, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर, चितवनका वैज्ञानिक देवराज चालिसे, दोलखास्थित पहाडी बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक किरण बराल, बागवानी अनुसन्धान केन्द्रका प्राविधिक अधिकृतहरु विकास घिमिरे र बुद्धिबहादुर अछामीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
सात दिनभित्र लिखित स्पष्टीकरण पेश नगरे उनीहरुउपर गरिएको लगानी असुलउपरसहित सेवाबाट बर्खास्त गर्ने परिषद्को चेतावनी छ । सूचनामा भनिएको छ, ‘तपाईंले अध्ययन बिदामा जाँदा परिषद्सँग गर्नुभएको कबुलियतनामाका शर्तसमेत उल्लङ्घन गर्नुभएको हुँदा कर्मचारी प्रशासन विनियमको विनियम, ३८ (४) को प्रावधानबमोजिम अध्ययनमा रहँदा तपाईंउपर परिषद्ले लगानी गरेको सम्पूर्ण रकम असुलउपर गर्नेगरी परिषद्को मिति २०८१–१२–३१ मा बसेको ६६ औं बैठकका निर्णयानुसार अध्ययन बिदामा जाँदाको मितिबाट नै लागू हुनेगरी नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ? नगर्नुपर्ने कुनै कारण र प्रमाण भए स्पष्टीकरणसहित उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।’
टिप्पणीहरू