सर्वोच्चका इजलास दुईतिर, प्रधानन्यायाधीशको च्याम्बर अर्कैतिर

सर्वोच्चका इजलास दुईतिर, प्रधानन्यायाधीशको च्याम्बर अर्कैतिर

सर्वोच्च अदालतको निर्माणाधीन भवनमा पाँच वटा इजलासलाई तयारी अवस्थामा पुर्याइएको छ । भोलिदेखि नयाँ भवनका ती इजलासमा पनि मुद्दा सुनुवाईको व्यवस्था मिलाइएको छ । 

अन्य न्यायाधीशको च्याम्बर र सर्वोच्च प्रशासन पुरानै भवनमा रहे पनि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र मुख्य रजिष्ट्रार विमल पौडेलको कार्यकक्ष भने नयाँ भवनमा सारिएको छ । वरिष्ठताको आधारमा आगामी प्रधानन्यायाधीशको रोलक्रममा रहनुभएकी सपना प्रधान मल्लको कार्यकक्ष पुरानै भवनमा रहने छ । 

प्रधानन्यायाधीशको च्याम्बर नयाँ भवनमा सारिएकाले हरेक दिन बिहानको इजलास सूची बनाउने क्रममा मुद्दाको गोला पनि अबदेखि नयाँ भवनमा तानिने छ । भदौ २४ गतेको जेन जी विध्वंशमा आगो लगाएको ध्वस्त बनाइएको सर्वोच्चको भवनमा सामान्य मर्मत र रंगरोगन गरेपछि सेवा सुचारु गरिएको हो । झण्डै एक महिना परिसरमा टेण्ट टाँगेर इजलास सञ्चालन गरिएको थियो ।

सर्वोच्चको वर्तमान संगठन संरचना अनुसार कम्तीमा २० वटा इजलासको आवश्यकता पर्छ । प्रधानन्यायाधीशले बोलाएर नयाँ भवन निर्माण गरिरहेको ठेकेदार कम्पनीका मालिकलाई आग्रह गरेपछि हतारमा पाँच वटा इजलाससहित उहाँको च्याम्बर तयार पारिएको हो । तर, आन्तरिक साजसज्जाको काम भने बाँकी नै छ । यसअघि ठेकेदारले कात्तिक १५ गते इजलास तयार पारिदिने वचन दिएका थिए ।

यतिखेर पुरानो भवनमा १० वटा इजलास चालु अवस्थामा छ । उताको बाँकी काम बिस्तारै भइरहेको जनाइएको छ । प्रधानन्यायाधीशको च्याम्बर नयाँ भवनमा लगिएकाले आगामी बुधबारदेखि संवैधानिक इजलास र आवश्यकताअनुसार फुलकोर्ट पनि उतै बस्नेछ ।

चैतमा अवकाश हुनुअघि सर्वोच्चको पुरानो भवनको पछाडि बन्दै गरेको नयाँ भवन उद्घाटन गर्ने प्रधानन्यायाधीशको चाहना पूूरा गरिदिन ठेकेदार कम्पनीलाई अनुरोध र दबाब सँगैसँगै दिइएको बताइन्छ ।

टिप्पणीहरू