सरकार उल्टो बाटो हिँडेको भन्दै जनमत संग्रह माग
नागरिक बचाउ दलका संरक्षक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रह गर्न माग गरेका छन् ।
अन्तरिम सरकारसँग यससम्बन्धी माग प्रस्तुत गरिसकेको जनाउँदै उनले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए । गृहमन्त्री ओमप्रकाश अर्यालसँग यसबारे कुरा भएको र जनमत संग्रहका लागि सकारात्मक रहेको प्रसाईंको दावी छ ।
आफूहरूको माग नेपाल टुक्राउने खालका नभएको जिकिर गर्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको उनले बताए । अन्यथा आन्दोलन नै अन्तिम विकल्प हुने उनको चेतावनी छ ।
प्रसाईंले सरकार उल्टो बाटोमा हिंडिरहेको आरोप पनि लगाएका छन् । जेन–जीको बलमा बनेको सरकारले जेन–जीहरूलाई नै थुनिरहेको बताउँदै उनले भ्रष्टाचारीलाई कारवाही गर्न नसकेकोमा आक्रोश व्यक्त गरे ।
दौ २३ र २४ गतेको आन्दोलन गर्नेहरूलाई थुन्न नहुने बताएका प्रसाईंले राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिनुपर्ने तर्क गरेका छन् ।
टिप्पणीहरू