राप्रपामा झन् रमाइलो
‘माछा देखे दुलोभित्र हात, सर्प भेटे दुलो बाहिर हात !’ यो उखान ठ्याक्कै मेल खान्छ पूर्वपञ्चहरूको पार्टीमा । जेनजी प्रदर्शन र विध्वंशपछि राप्रपाका संघीय मात्र होइन, प्रदेश सांसदहरूले समेत राजीनामा दिने निर्णय गरेका थिए । संघका १४ र प्रदेशका २८ सांसदले सामूहिक राजीनामा दिने निर्णय भएको हो, भदौ २४ मा ।
पार्टी प्रवक्ता तथा प्रचारप्रसार विभागका प्रमुख मोहनकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो, ‘विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिएर संसद्बाट बाहिरिने निर्णय भएको छ । तर, प्रदेश सांसदको पनि राजीनामा दिने निर्णय राप्रपालाई अहिले भारी परेको छ ।
हिजो संसद र संविधानको औचित्य छैन भनेर राजीनामा दिएको घोषणा गरियो । यद्यपि, अहिले पनि प्रदेशका २८ सांसदको खातामा पैसा गइरहेको छ । राप्रपाबाट कोशी प्रदेशमा सभामुखसहित ६ जना सांसद छन् भने बागमती प्रदेशमा सभामुखसहित १३ सांसद रहेकोमा सभामुखले राजीनामा दिइसकेका छन् ।
यस्तै, लुम्बिनीः ४, गण्डकीमा २ र मधेश/कर्णाली/सुदूरपश्चिमः १/१ गरी २८ सांसद रहेका छन् । गण्डकीमा २ सदस्य भए पनि दुवै जनाले गाडी सुविधा प्राप्त गरेका छन् । यिनै सांसदले आगामी राष्ट्रियसभा निर्वाचनमा के भूमिका खेल्ला ? चासोको विषय बन्न पुगेको छ । यो विषयमा राप्रपाका पदाधिकारीहरूसँग जिज्ञासा राख्दा ‘राष्ट्रियसभा निर्वाचनमा के गर्ने भन्ने विषयमा छलफलै नभएको बताए ।’ एमाले, कांग्रेस र नेकपासहितका तीन ठूला दलले नै भागवण्डा गरिसकेका छन्, हामीले भाग लिनु वा नलिनुको के नै अर्थ छ र ?’ ती पदाधिकारीले भने ।
टिप्पणीहरू