निर्वाचन अगावै कारबाही !

निर्वाचन अगावै कारबाही !

नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षले एकताको लागि भन्दै अघि सारेको आठ बुँदे प्रस्ताव संस्थापन पक्षले अस्वीकार गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तावको सबै बुँदा मान्न नसकिने भन्दै विश्वप्रकाश शर्मालाई जवाफ पठाएका छन् । 

पार्टी विभाजनोन्मुख भएको बेला शर्माले एकताको लागि अन्तिम विकल्प भन्दै खड्कालाई आठ शर्तसहितको प्रस्ताव पठाएका थिए । जसमा सभापति शेरबहादुर देउवा कार्यकारी भूमिकाबाट बाहिरनुपर्ने, आगामी चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर चुनाव जानुपर्ने, उम्मेदवारको टिकटबाट देउवाले हस्ताक्षर फिर्ता लिनुपर्ने, टिकट वितरणको लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्नेलगायतका शर्तहरु छन् । तीमध्ये संस्थापन पक्षले उम्मेदवारको टिकटबाट देउवाले हस्ताक्षर फिर्ता लिनुपर्ने शर्तसहित केही बुँदा मात्रै मान्ने जवाफ पठाएको हो । खासगरी देउवा तत्काल निष्क्रिय हुनुपर्ने शर्तमा संस्थापन पक्ष पूर्ण असहमत देखिन्छ । 

विशेष महाधिवेशन पक्षलाई अन्तिम जवाफ दिएसँगै सानेपामा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरुलाई कारबाहीको पत्र पठाउने तयारी गरेको स्रोतको दाबी छ । उता भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि प्रक्रिया थालिएको छ ।

टिप्पणीहरू