भृकुटीमण्डपबाट पठाइएको अन्तिम प्रस्तावमाथि छलफल
पार्टी विभाजनको डिलमा पुगेको अवस्थामा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि केहीबेरअघि अन्तिम प्रस्ताव पठाएका छन्। शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाएको प्रस्तावमाथि हाल पार्टी मुख्यालयमा रहेको कार्यवाहक सभापतिको कार्यकक्षमा छलफल भइरहेको छ।
स्रोतका अनुसार प्रस्तावमा पार्टी संकट समाधानका लागि सभापति शेरबहादुर देउवाले पद त्यागेर अभिभावकीय भूमिकामा बस्नुपर्ने मुख्य आग्रह छ । आज बिहान देउवा निवास महाराजगञ्जमा भएको छलफलमा महामन्त्रीद्वय गगन थापा र शर्माले सभापतिलाई पार्टी जिम्मेवारीबाट विश्राम लिन सुझाएका थिए।
त्यसपछि शर्माले संस्थापन पक्षलाई औपचारिक रूपमा अन्तिम प्रस्ताव पठाएका हुन् । ‘महामन्त्रीको प्रस्ताव कार्यवाहक सभापतिसम्म पुगेर छलफल भएको छ तर सभापति देउवा सहमत हुने वा नहुने विषय टुंगो लाग्न बाँकी छ,’ स्रोतले भन्यो ।
महामन्त्री शर्माको अन्तिम प्रस्तावमा पुनर्विचार नभए पार्टी विभाजन लगभग निश्चित रहेको बताइन्छ। महामन्त्रीद्वयले प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण गर्दा कार्यवाहक सभापतिको हस्ताक्षर अनिवार्य गर्नुपर्ने माग राखेका छन्। त्यसैगरी, सभापति देउवाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने, भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनका निर्णयलाई मान्नुपर्नेलगायत मागहरु थपिएका हुन् ।
देउवा निवासमा भएको छलफलमा सभापतिले आगामी वैशाखमा हुने १५औँ महाधिवेशनपछि आफू स्वतः बाहिरिने बताउँदै त्यतिन्जेल धैर्य गर्न आग्रह गरेका थिए। संस्थापन पक्षले उल्लेख्य लचकता देखाए पनि तत्काल पद छाड्ने विषयमा सहमति नभएको विशेष महाधिवेशन पक्षधरहरुको भनाइ छ ।
चार–पाँच चरणको छलफलपछि पनि सहमति नजुटेपछि विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ ।
टिप्पणीहरू