सुर्खेतमा नेकपाको छुट्टै सर्कुलरः “ओली पक्षको भ्रममा नपर्नू”

सुर्खेतमा नेकपाको छुट्टै सर्कुलरः  “ओली पक्षको भ्रममा नपर्नू” 

नेकपा (बहुमत)सुर्खेतले ओली पक्षको भ्रममा नपर्न पार्टी कार्यकर्तालाई सचेत गराएको छ । खानेपानी मन्त्री मणि थापालाई डाकेर ओली पक्षले शनिवार आयोजना गरेको कार्यक्रमप्रति संकेत गर्दै नेकपाले उक्त कार्यक्रममा सहभागी नहुन पार्टीपंक्तिलाई अनुरोध गरेको थियो  ।

शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपाले जिल्ला पार्टीको तर्फबाट माघ १७ गते कुनै कार्यक्रम नरहेको प्रष्ट पारेको हो । ‘जिल्ला पार्टीको तर्फबाट माघ १७ गते कुनै कार्यक्रम नरहेको जानकारी गराउँदै कुनै पनि भ्रममा नपर्न अनुरोध गर्दछौँ ।’नेकपा सुर्खेतले पार्टीलाई एकतावद्ध बनाउने अभियान चलिरहेका बेला ओली पक्षले छुट्टै कार्यक्रम राखेको बताएको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका कारण मुलुक निरंकुशतातर्फ गैरहेको भन्दै सो पार्टीले जनताका सार्वभौम अधिकार हनन् भएको उल्लेख गरेको छ । यस्तो अवस्थामा पार्टीलाई थप एकतावद्ध बनाउनुपर्नेमा पनि जोड दिएको छ ।

‘प्रधानमन्त्रीको असंवैधानिक कदमका कारण मुलुक निरंकुशतातर्फ गैरहेको अवस्थामा जनताका सार्वभौम अधिकारहरु हनन् भैरहेका छन् । यस्तो विषम परिस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्द गर्दै लैजानुपर्ने सबै नेता र कार्यकर्ता तथा पार्टी सदस्यको उत्तरदायित्व बनेको छ ‘,विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ध्रुवकुमार शाही र सचिव कृष्णबहादुर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसद विघटनविरुद्ध भएका आन्दोलनका कार्यक्रमलाई समर्थन गर्दै पार्टीलाई एकताबद्ध गराउन आगामी दिनमा जिल्ला पार्टीले कार्यक्रम घोषणा गर्ने पनि जनाइएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले विभाजित भएको नेकपाका दुवै पक्ष देशव्यापी संगठन विस्तारमा लागेका छन् । बहुमत (प्रचण्ड-माधव)पक्ष ओलीको कदमका विरुद्ध सडक संघर्षमा होमिएको छ भने ओली पक्ष निर्वाचन केन्द्रित कार्यक्रम गरिरहेको छ । पार्टीको आधिकारिकता विवाद कायमै रहेका बेला दुवै पक्षले एक-अर्काका कार्यक्रमलाई अस्वीकार गरिरहेका छन् ।

टिप्पणीहरू