‘भाइहरु’ चिसा थाङ्नामा भुसुक्कै

– लेखनाथ भण्डारी

कसै–कसैले भट्याइरहने ‘बा’का नाममा,

नेपालको राजनीतिमा एकाघरका सदस्यहरुको एउटै वा अलग्गै राजनीतिक पार्टीमा उल्लेख्य सहभागिता रहेको छ । बाबुछोरा, दाजुभाइ, काकाभतिजा, मामाभाञ्जा वा भाञ्जी र ससुरालीतर्फ पनि प्रशस्त उदाहरण छन् । नेपाली कांग्रेसका संस्थापक सदस्यहरु बीपी कोइराला र मातृकाप्रसाद दाजुभाइ हुन् । राजनीतिक प्रभुत्व र भूमिकाका कारण बीपीको नाम अगाडि आए पनि मातृका दाजु हुन् । मातृकाका छोरा कमल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुमध्ये पर्नुहुन्छ । गिरिजाप्रसाद बीपीका सहोदर भाइ हुन् ।

घरायसी सम्बन्धले बाबुछोरा वा दाजुभाइ नै हुन् मनमोहन र भरतमोहन अधिकारी । नाताले पिता नै भए पनि कमल कोइरालाले मातृकाबाबु भनेर लेख्ने र बोल्ने गर्नुभएको छ । नेपाली कांग्रेसमा बीपी कोइरालालाई सर्वसाधारण कार्यकर्ताले सान्दाजु भन्थे । सामान्यतया गिरिजाप्रसादले मात्र होइन, बीपीका पुत्रद्वय प्रकाश र शशांकले समेत सान्दाजु वा बीपीबाबु भनिरहे । कतै कुनै सन्दर्भमा अर्थात् सार्वजनिक रुपमा दाजु, मामा, भाइ, भाञ्जी, भिनाजु, साली आदि भनेको सुन्न वा पढ्न पाइएन । डा. शशांक नेपाली कांग्रेसका वर्तमान महामन्त्री नै हुनुहुन्छ तर पछिल्लो समय अर्थात् केही वर्षयता नेपाली राजनीतिमा नेकपाका नेता तथा वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई एकाएक बा र अंकलका रुपमा सार्वजनिक संबोधन गर्न थालिएको छ । यो उहाँको रुची वा मोहकै कारण शुरु भएको किन हो भने हिजोसम्म ‘कमरेड ओली’ भन्ने उहाँका कार्यकर्ताहरु ‘बा’ वा अंकल संबोधनमा कमरेड ओलीले कुनै अप्ठेरो महसुस नगरेको वा त्यसो नभन्न सल्लाह पनि नदिएको बताउँछन् ।

व्यक्तिगत वा पारिवारिक जीवनमा उमेर वा नाताका कारण कसलाई, कसरी संबोधन गर्ने र कसरी ग्रहण गर्ने आ–आफ्नै रोजाइ हुनसक्छ । तर राजनीति र त्यसमा पनि सार्वजनिक जीवनमा यसको एउटा मानक हुनुपर्छ र हुन्छ । उमेर वा नाताले कनिष्ठ÷कान्छो नै भए पनि सार्वजनिक जीवनका पदीय मर्यादामा व्यक्तिगत सम्बन्धका साइनो र सम्बन्ध स्वीकार्य वा स्वाभाविक हुन्नन् । यो हेक्का सबैले राख्नु आवश्यक र अनिवार्य हुन्छ । यो यथार्थ बाका रुपमा सम्मानित प्रम ओली र उहाँका कार्यकर्तालाई सिकाउन वा सुनाउन पर्दैन ।

बा वा अंकल संबोधनमा रमाउनुहुने प्रम ओलीले केही दिनपहिले पूर्वप्रमद्वय प्रचण्ड र माधव नेपाललाई एक राजकीय सार्वजनिक कार्यक्रममा चिनिने गरी व्यंग्यात्मक शैलीमा भाइहरुले लड्डु खाएर विजयोत्सव मनाएको टिप्पणी गर्नुभयो । आफूले समग्र देशको राजनीतिक पद्धतिलाई जुन रुपमा प्रभावित पार्ने प्रयास गर्नुभएको थियो, त्यसलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक भनेर बदर गरेको विषयलाई सामान्य ठान्नुहुने प्रम ओलीले त्यसै अवसरमा सबै मानिसका सबै कृति अमर वा सम्झनलायक नहुने बताउनुभयो तर नेपालको सन्दर्भमा मानिसहरुले बुद्धलाई बाहेक कसैलाई सम्झनयोग्य नठान्ने भएकाले बुद्धपछिको कृति राख्ने आफ्नो अभियानमा साथ दिन पनि त्यस राजकीय सभाका विद्वत्जनलाई निर्देशन पनि दिनुभयो । ‘भाइहरु’ अर्थात् पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालले प्रदर्शन गर्नुभएको लड्डु ग्रहणको शैली केही उत्ताउलो हुनसक्छ तर राजकीय शैलीमा सूर्योदयदेखि सूर्यास्तसम्म जन्मोत्सवका लागि आफ्नो निवासको ढोका खुला गर्नुहुने प्रधानमन्त्री ओलीले उमेरले केही महिना वा एकाध वर्ष कम उमेरका समकक्षीहरुलाई त्यसरी कटाक्ष गर्नु पदीय मर्यादा होइन । लड्डु खानुहुने भाइहरुले लड्डु, पेडा, केक वा अंकमालले राजनीतिको विजयोत्सव हुने भए यी सबै कृत्य ‘दाजु निवास’ मा अनि हेलिकोप्टरबाट पोहोर ताप्लेजुङमै कति र कसरी भए सम्झनुपर्ने होइन र ?

निधिका नाममा दुपट्टा

विमलेन्द्र निधि नेपाली कांग्रेसका वर्तमान उपाध्यक्ष हुनुहुन्छ । उहाँका पिता महेन्द्रनारायण निधि नेपालको राजनीतिमा एक सादगी नेताका रुपमा सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो । नेपाली कांग्रेसको वरिष्ठ नेताका रुपमा केन्द्रीय कोषाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्नुभएका उहाँकै छोरा विमलेन्द्रले बाबुको विरासतलाई युवाकालदेखि नै उछिन्दै राजनीतिक यात्राको उचाइ प्राप्त गर्नुभएको हो । पिताको वैशाखी टेकेर राजनीति गरेको भनी विमलेन्द्रमाथि कसैले औंला उठाएको छैन ।
प्रधानमन्त्री ओलीले घरझगडालाई धान्न नसकेर संसद् विघटन गर्नुभएको सन्दर्भलाई नेपाली कांग्रेसले अप्रजातान्त्रिक, असंवैधानिक, अलोकतान्त्रिक कदमका रुपमा विरोध ग¥यो । यो कदमलाई राष्ट्रपति विद्या भण्डारीले समेत साथ दिएको लिंग छुट्टिने गरी नै पार्टी सभापति देउवाबाहेकका अन्य सबै कांग्रेस नेताहरुले टिप्पणी गरे । देउवाले गर्नुभएको उभयलिंगी टिप्पणीलाई कांग्रेसकै युवा नेताहरुले विरोध गरे । उपाध्यक्ष निधि सम्भवतः प्रम ओलीको यस कदमका विषयमा नेपाली कांग्रेसका तर्फबाट अत्यधिक टिप्पणी र विरोध गर्ने नेताहरुकै पंक्तिमा पर्नुहुन्छ । नामै लिँदा रामचन्द्र पौडेल र गगन थापासँगसँगै यस अप्रजातान्त्रिक÷असंवैधानिक कदम सच्याइनुपर्ने आवाज मुखरित गर्नेक्रममा पूर्वराष्ट्रपति तथा नेपाली कांग्रेसका नेता डा.रामवरण यादवले उठाएको आवाज एकै नगरनिवासी निधिले पनि सुन्नुभएको हुनुपर्छ । पारिवारिक नातामा ‘कूल बन्धु’ को माइतीलाई नामले संबोधन गर्नसमेत नहुने संस्कृति हुँदाहुँदै पनि डा. यादवले प्रकट गर्नुभएका टिप्पणीहरु उपाध्यक्ष निधिका लागि सहयोगी हुनुपर्छ ।

गत हप्ता निधिले आजीवन निरंकुशताविरुद्ध लड्नुभएका आफ्ना आदरणीय पिताको सम्मानमा स्थापित संस्थाको बेमौसमको देउसी राष्ट्रपति निवासमा खेल्नुभएछ । पिताको प्रजातान्त्रिक योगदानको सम्मानका लागि आयोजित कार्यक्रम प्रधानमन्त्रीको अप्रजातान्त्रिक र असंवैधानिक कार्यमा लालमोहर लगाउनुहुने राष्ट्रपतिको हस्ताक्षरको मसी नसुक्दै शीतलनिवासमा आयोजना गरेर उपाध्यक्ष निधिले चौडा छाती पारी गर्नुभएको फोटो सेशन सार्वजनिक भएका छन् । यो फोटो सेसनले स्वर्गीय पिताको त्यागको कति सम्मान ग¥यो अनुमान गर्न सकिन्छ । तर यसै बेमौसमको देउसी र फोटो सेशनमा अलिक अनौठो थप के पनि देखियो भने नेपालको प्रजातान्त्रिक आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताका अग्रज व्यक्तित्वद्वय होमनाथ दाहाल र पुरुषोत्तम दाहाल पनि राष्ट्रपति भण्डारीको अगलबगलमा दुपट्टासहित उभिनुभएको थियो । जुनसुकै अवस्थामा पनि ठूलाका दैलोमा गएर देउसी खेल्ने वा स्वस्ती गर्ने यो परम्परा सराद्धमा बिरालो बाँध्नुजत्तिको पनि सान्दर्भिक छ र ? लोकतन्त्र र संविधानको घाँटी निमोठेको साक्षी बसेर विवादमा आएको मात्र होइन, त्यसको विरोध आफूले समेत गरेको नै हो भन्ने राष्ट्रपति व्यक्ति होइन, संस्था हो भनेर शीतल निवासको दैलोमा जानुको औचित्य पुष्टि हुन्छ र ?

‘भाइहरु’का नाममा

राजनीति मर्यादित र संयमित हुनुपर्छ । उत्तेजना, आवेग र गालीगलौज मात्रले राजनीतिक गन्तव्य हासिल हुन सक्दैन । राजनीतिमा बोलिने भाषा, लगाउने पोशाक र शरीरको भावभंगी अर्थात् बडी ल्यांग्वेजको पनि महत्व हुन्छ ।

देख्दा वा सुन्दा आकर्षक वा स्वाभाविक लाग्न सक्छन् कतिपय असान्दर्भिक गालीगलौज र आवेगमा आएर गरिने क्रियाकलापहरु तर तिनको सन्देश र परिणाम भने राम्रो हुन्न । जनबोलीले भन्छ– स्यालको सिकार गर्नु छ भने बाघ मार्ने खजाना बोक्नु । तर, स्याल मार्न नै बाघको खजाना खर्च ग¥यो भने साँच्चिकै बाघ आएका बेला स्याल मार्ने खजानाले काम गर्दैन । सही ठाउँमा सही खजानाको प्रयोग र तयारी गर्नुपर्ने यस जनबोलीको सन्देश हुनुपर्छ ।
केही वर्षयता प्रधानमन्त्रीनिवास बालुवाटारमा जति धेरै हार्दिकताको अंगालो नेकपाको अन्य कुनै सार्वजनिक मञ्चहरुमा भएनन् । त्यहाँ जति सहभोजन, चियापान, जन्मदिनका केक–मिठाई वितरण पनि अन्यत्र कमै भयो । तर, ती सबै कथित मित्रताका अंकमाल र मिष्ठान्नहरुको स्वादकै परिणाम पुस ५ को आगमन थियो । यी सबै देखावटी र बनावटी नौटंकी मात्र रहेछन् भन्ने चेत भएको भए भरतपुरमा ‘भाइहरुले’ लड्डुले मुख मीठा गर्ने थिएनन् । पुस ६ गतेको योजना, रणनीतिका लागि तयारी गर्ने थिए ।

जब अदालतले पुस ५ लाई पुस ४ गतेमा नै पु¥याइदियो भने प्रचण्ड र माधव नेपालले सारा नागरिक समाज, अदालत र आफ्नो पार्टीको बलबुता लगाएर दुई महिना बित्दा पनि किन पुस ६ गते बिहान के गर्ने भनेर तयारी गरेनन् ?

रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेको थियो भन्ने उदाहरण आज पनि चर्चा हुने गर्छ । जनमतबाट पाँच वर्षका लागि निर्वाचित संसद् विघटन गर्नुलाई सर्वोच्च अदालतले संविधानतः गलत भनेर फैसला गर्दा पनि प्रधानमन्त्री ओली आफ्नो निवासमा त्यसलाई सामान्य घटना ठानेर आफ्नो ७० औं जन्मोत्सवका लागि दुनियाँ रैतीका लागि ढुकुटी खुला राखेर उदारता प्रकट गरिरहेका थिए । एकातिर प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीका कदमको विरोधसभा गरिरहेका थिए भने अर्कोतिर प्रम ओली विजयोत्सवको शैलीमा यस लोकबाट देख्न र हेर्न नसकिने सभा सर्वोच्च अदालतले पनि हेरिरहेकै छ भनेर धम्कीको शैलीमा सूचना दिइरहेका थिए । किनकि प्रम ओलीलाई स्याल मार्न बाघको खजाना चाहिन्छ भन्ने हेक्का थियो तर उनका ‘भाइहरु’ स्याल मार्न पनि चरो मार्ने गुलेली खेलाउँदै अल्मलिइरहेका रहेछन् ।

‘भाइहरु’ले प्रधानमन्त्री ओलीका कदमविरुद्ध जुन मूल्य–मान्यताको पक्षमा आफूलाई उभ्याएका थिए, त्यसको निर्णायक दिन थियो– पुस ५ । प्रधानमन्त्रीको कदमका विरुद्ध जब अदालतले पुस ५ लाई पुस ४ गतेमा नै पु¥याइदियो भने प्रचण्ड र माधव नेपालले सारा नागरिक समाज, अदालत र आफ्नो पार्टीको बलबुता लगाएर दुई महिना बित्दा पनि किन पुस ६ गते बिहान के गर्ने भनेर तयारी गरेनन् ? बा बयलगाडा चढेर नै चन्द्रमा पु्ग्न लागिसके तर जहाज चढेर अमेरिका हिँडेका ‘भाइहरु’ले किन जहाज अहिलेसम्म स्टार्ट गर्नै सकेनन् ? प्रम ओलीले ‘भाइहरु’ यसै भन्नुभएको किन होइन भने मानिसहरुमा यस्तो स्वभाव पनि हुन्छ– ‘नामर्दको आलिंगन भन्दा मर्दको दास नै बेस ।’ भाइहरुले बुझ्न नसकेको यत्ति हो– रात रहे अग्राख पलाउँछ ।
भाइहरुमध्ये ठूलो भाइ माधव नेपाल अहिले पनि भन्दै हुनुहुन्छ– ‘बालुवा पेलेर तेल आउँदैन ।’ बालुवा पेलेर तेल आउँदैन भन्ने थाहा नै थियो भने प्रम ओलीले तोरी रोपेर, फलाएर तेल बनाउन सकिने समय दिनुभएको थियो । के यो दुई महिना ६ दिनमा तोरी रोपेको भए पुस ६ गतेका दिन त्यो तेल कसलाई, कहाँ घस्ने कि कसरी खाने थाहा हुन्न थियो र ? भाइहरु प्रधानमन्त्री ओलीले भिजाएका चिसा थाङ्नामा भिज्दै सुतेको देख्न नपरोस् ।

टिप्पणीहरू