निलम्बनको पत्रमा सही धस्काएर प्रधानमन्त्री रंगशालामा फुटबल हेर्दै

निलम्बनको पत्रमा सही धस्काएर प्रधानमन्त्री रंगशालामा फुटबल हेर्दै

१५ वर्षसम्म आफैँले नेता मानेका वरिष्ठ नेता माधवकुमार नेपाल र नवौँ महाधिवेशनमा आफूसँगै उपाध्यक्षमा निर्वाचित भीम रावललाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेर प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले फुटबल हेर्न दशरथ रंगशाला पुग्नुभएको छ ।

नेता नेपाल र रावललाई ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बन गरिएको पत्र पठाएर प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फुटबल खेल हेर्न त्रिपुरेश्वर पुग्नुभएको हो ।

यसअघि नेता नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ओलीले स्पष्टीकरण सोध्नुभएको थियो । पाण्डे र भुसालले आजसम्म स्पष्टीकरणको जवाफ दिनुभएको छैन । नेपाल र रावलको जवाफ चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको बताइएको छ ।

एमाले नेता वेदुराम भुसालले निलम्बनको निर्णय आफूहरूको निम्ति सामान्य भएको प्रतिक्रिया दिनुभयो । ‘एक हिसाबलेभन्दा २८ गते नै कारबाही गरेको जस्तै हो । हामीले पार्टी जोगाउन अधिकतम लचकता अपनाएका थियौं । उहाँले स्पेस दिन चाहनु भएन,’ उहाँले भन्नुभयो ।

आजै एमाले अर्घाखाँचीले नेपाल पक्षका तीन नेतालाई निष्काशन गरेको छ । केन्द्रीय सदस्य डा. दुमन थापालगायतका नेताहरूलाई निकाशन गरिएको बताइएको छ ।

टिप्पणीहरू