प्रधानमन्त्री राष्ट्रहित विपरितका कार्यमा लागेको प्रचण्डको आरोप
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाउनुभएको छ ।
शुक्रबार आयोजित ‘बागमती प्रदेश कराँते च्याम्पियनसीप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरितका गतिविधि गर्ने काम भएको बताउँदै उहाँ राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरू बाहिर आएको बताउनुभयो ।
उहाँले ती समाचारले नेपालीको इज्जत,प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्नचिन्ह खडा गर्ने दुस्साहस उत्पन्न भएको बताउँदै नेपालीलाई राष्ट्रहित बिरोधी षड्यन्त्र स्वीकार नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘तानाशाही र निरङ्कुश शक्तिहरू एकचोटी परास्त भए पनि अझै पूर्ण परास्त भएका छैनन् । उनीहरूको कसरत र षड्यन्त्र नेपाल र नेपाली जनताकाविरुद्ध चलिराखेको छ ।
देशलाई बन्धकी राख्ने,राष्ट्रहित विपरितका गतिविधि गर्ने काममा स्वयं सरकारको नेतृत्व गर्ने प्रमुख नै लागेको खबरले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ । तर सचेत नेपाली जनता,स्वस्थ नेपाली जनता,वलिष्ठ नेपाली जनतालाई ती सबै षड्यन्त्र स्वीकार्य छैन ।’
प्रचण्डले केही मानिसले संघीयता खारेज गर्ने र स्थानीय तहलाई दिइएको अधिकार खोस्ने सपना देखेको समेत बताउनुभयो । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने उहाँको तर्क रहेको छ ।
उहाँले भन्नुभयो ‘अहिले पनि केही मानिसले त्यस्तो सपना देखेका छन् । संघीयता खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिको हातमा केन्द्रित गर्ने,समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ । केही मुट्ठीभर मान्छेले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य छैन ।’
टिप्पणीहरू