धरहरा पुनर्निर्माण अन्तिम चरणमा
२०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त धरहराको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
आइतबार प्रधानमन्त्री ओलीको प्रतिनिधिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गर्नुभएको थियो । सो क्रममा बैशाख १० गतेभित्र भित्रि भागका सम्पूर्ण काम सम्पन्न गर्न उहाँले निर्देशन दिनुभएको थियो ।
प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए । तर केही फिनिसिङ्को काम बाँकी रहेको र अबको ५ दिन भित्रमा सबै सम्पन्न भइसक्ने बताउनुभयो । अहिले रङ्रोगन गर्ने, बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेको छ । उहाँले अहिले धरहरा स्तम्भको ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो ।
धरहरामा धरहरा स्तम्भसँगै कार पार्किङ स्थल, उद्यान, म्युजियम लागयतका संरचनाहरु बन्नेछन् । अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो । बाँकी काम पनि धमाधम भइरहेको मानन्धरले बताउनुभयो । विशुद्ध पर्यटकीय स्थलका रुपमा निर्माण गरिएको धरहरामा मिन्ट म्युजियम र अर्थ क्वेक म्युजियम रहनेछन् ।
धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फि लिफ्ट हुनेछन् । धरहराको २० औं तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको ‘भ्यु डेक’ बनाइएको छ । धरहराको कुल उचाई २ सय ४५ फिट रहेको छ ।
टिप्पणीहरू