११ वर्षपछि घरेलु मैदानमा उपाधि
नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-२० सिरिजको उपाधि नेपालले जीतेको छ । आज भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा पहिलो पटक टी-२० सिरिजको उपाधि जितेको हो ।
घरेलु मैदानमा लामो समय उपाधि जित्न असमर्थ रहेको नेपालले ११ वर्षपछि शानदार जीतसंगै उपाधि हात पारेको हो । यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेको थियो ।
आजको खेलमा नेपालले प्रस्तुत गरेको २३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स मात्र ९६ रनमा अलआउट भएपछि उपाधि नेपालको पोल्टामा गएको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले टि-२० इतिहासमै सर्वाधिक रन बनाएको थियो । नेपालले मात्र ३ विकेटको क्षेतिमा २३८ रनको योगफल बनाएको थियो ।
नेपालको जीतमा कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे । सिरिजमा लगातार उत्कृष्ट प्रदर्शन गरेका भुर्तेलले मात्र ५३ बलमा ८ चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे । उनी नेपालका लागि एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने ।
त्यस्तै, कुशल मल्लले अर्धशतकीय पारि खेले । सो क्रममा उनले मात्र २४ बलमा ५ छक्का र २ चौकाको मद्दतले ५० रन बनाए । आक्रमक ब्याटिङ गरेका उपकप्तान दिपेन्द्र सिंह ऐरीले मात्र १८ बलमा ४८ रन जोडेका थिए । उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्लले ३३ र असिफ सेखले १६ रन बनाए । आक्रमक ब्याटिङ गरेको नेपालले अन्तिम ५ ओभरमा ८० रन जोडेको थियो ।
२३९ रनको विशाल लक्ष्य पछ्याउंदै ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले खराव शुरुआत गरेको थियो । पावरप्ले ओभरमै चार विकेट गुमाएपछि नेदरल्याण्ड्स दबाबमा आएको थियो । त्यसपछि पनि लगातार विकेट गुमाएको नेदरल्यान्ड्स ९६ रनमा सबै विकेट गुमाएपछि उपाधि नेपालको पक्षमा गएको हो ।
नेदरल्यान्ड्सका लागि कुनैपनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । टिएस भार्टले २६, एमपी ओ डवोड़ले २२ र पिएम सिलारले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २-२ विकेट तथा अविनास बोहोराले १ विकेट लिए । नेपालले २ विकेट रनआउट गराएको थियो ।
सिरिजका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै अंकतालिकामा शीर्ष स्थानमा रहेको थियो । दुई खेलमा जीत, एकमा हार र एक खेल बराबरी खेलेको नेदरल्यान्ड्स अंकतालिकामा दोस्रो स्थानमा थियो ।
टिप्पणीहरू