भीआईपी महिला थुनिएकै ठाउँमा कोरोना
कोरोना संक्रमण बढ्दै गएपछि सुरक्षा निकायसँगै थुनुवा र कैदीमा समेत त्यसको खतरा टड्कारो देखिएको छ ।
स्रोतका अनुसार नेपाल प्रहरीको काठमाडौं जिल्लास्थित हिरासतमा रहेका थुनुवाहरुमध्ये झण्डै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त टेकूअन्तर्गत अनामनगर, बौध्द, महाराजगन्ज, बालाजू, थानकोट, बानेश्वर, कालिमाटी, गौशालातिर मात्रै ६५ जना हिरासतमा छन् । त्यहाँ रहेका केही थुनुवा र प्रहरीमा समेत संक्रमण देखिएको छ । टेकूको हिरासतमा रहेका थुनुवामध्ये महिला १० जना रहेको बताइन्छ ।
ड्युटीमा खटिएका प्रहरीमध्ये ५ जनामा संक्रमण देखिएको स्रोतको दाबी छ । केही दिनअघि ठगीको आरोपमा प्रहरी हिरासतमा रहेकी भीआईपी महिला झापाकी कञ्चन खत्रीलाई अदालतबाट दश दिनदेखि म्याद थपेर अहिले टेकू प्रहरीको हिरासतमा राखिएको छ । त्यहाँ पनि केहीमा संक्रमण देखिएको बताइएको छ ।
खत्रीको ठगी मुद्दामा सरकारी वकिलले उनको श्रीमान् भनिएका लिभिंग टुगेदर पति अमित श्रेष्ठलाई समेत पक्रेर अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई निर्देशनसहितको पत्र पठाएको छ । अमित खत्रीसँग लफडा भएपछि केही समय अघिदेखि क्यानाडामा बस्दै आएका थिए,अहिले काठमाडौंमा छन् ।
खत्री अमितका भाइ सुवास श्रेष्ठको जाहेरीमा पक्राउ परेकी हुन् । सुवासको एटीएम कार्डको अनाधिकृत प्रयोग गरेको आरोपमा खत्री बैंकिङ कसुरअन्तर्गत हिरासतमा पुगेकी हुन् ।
टिप्पणीहरू