कोरोना संक्रमितले टिचिङ हस्पिटल प्याक, थप सावधानी अपनाउन चिकित्सकको सल्लाह

कोरोना संक्रमितले टिचिङ हस्पिटल प्याक, थप सावधानी अपनाउन चिकित्सकको सल्लाह

कोरोना महामारीको दोस्रो लहरले राजधानीका अस्पतालसमेत भरिभराउ भएका छन् । बिहीबार एकै दिन हालसम्मकै उच्च ३५ जनाको ज्यान गएपछि दोस्रो लहरले भयानक रुप लिनसक्ने भन्दै स्वास्थ्य विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

बैशाखको शुरुतिर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमितको चाप सामान्य रहेको अस्पतालका सघनउपचार विशेषज्ञ डा.सुवासप्रसाद आचार्यले बताउनुभएको छ । तर अहिले त्यहि अस्पतालमा दिनहुँ संक्रमितहरू नसोचेको संख्या थपिएपछि उपचारको लागि राख्ने ठाउँ नभएको बताइन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पृष्ठमा सार्वजनिक गरिएको भिडियोमा डा. आचार्यले दुई हप्ता अगाडिसम्म संक्रमित बिरामी १० बेडमा सीमित रहेको बताउनुभएको छ । तर अहिले ७५ वटा भन्दाबढी बेडमा कोरोना संक्रमित भर्ना भएपछि अस्पताल कोरोना बिरामीले भरिएको हो ।

यसअघि कोरोना आईसीयुमा कुनैपनि बिरामी थिएनन् । तर, पछिल्लो दिनमा भेन्टिलेटर र आईसीयुमा भर्ना हुनुपर्ने बिरामीको संख्या बढेपछि अवस्था गम्भीर बन्दै गएको छ । उहाँका अनुसार १२ बेड भएको कोभिड आईसियु पनि अहिले सबै भरिएको छ ।

अस्पतालका अन्य इकाइहरूमा समेत कोभिड–१९ का बिरामीको संख्या बढ्दै गएको छ । उहाँका अनुसार यसरी नै संक्रमणदर बढेमा बैशाख महिनाभित्र अवस्था विकराल हुन सक्नेछ । नयाँ भेरियन्टको कोरोना भाइरसको लक्षण पनि सबैमा फरक देखा परेको बताउँदै आचार्यले सामान्य ज्वरो आएमा समेत पीसीआर परीक्षण गर्न सुझाउनुभएको छ ।

डा. आचार्यले घरभित्रै बस्दा पनि परिवारका सदस्यहरूबीच भौतिक दूरी कायम गर्ने र सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

टिप्पणीहरू