पन्ध्र करोडलाई हान्यो कोरोनाले

पन्ध्र करोडलाई हान्यो कोरोनाले

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुनेको संख्या १५ करोड नाघेको छ । वर्डोमिटर्सका अनुसार आज शनिवार दिउँसोसम्म विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड २१ लाख ११ हजार ४४४ पुगेको छ ।

त्यस्तै,कोरोना सङ्क्रमणबाट ३१ लाख ९६ हजार ३६० जनाको मृत्यु भएकोे छ । संक्रमण पुष्टि भएकामध्ये १२ करोड ९४ लाख १८ हजार ९२६ जना निको भएका छन् ।

अहिले विश्वमा १ करोड ८८ लाख ८९ हजार ५३३ सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १ लाख १२ हजार २७१ जनाको अवस्था गम्भीर रहेकोे वर्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा मात्रै ३ करोड भन्दा बढीमा संक्रमण देखिएको छ । अमेरिकामा ३ करोड ३१ लाख ३ हजार ९७४ जना सङ्क्रमित रहेका छन् । जसमध्ये २ करोड ५७ लाख १० हजार १४२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ९० हजार ५५ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको प्रभाव बढी देखिएको छ । भारत उच्च संक्रमित देशको दोस्रो सूचीमा रहेको छ । त्यहाँ १ करोड ९१ लाख ६४ हजार ९६९ जना संक्रमणको शिकार भएका छन् । भारतमा संक्रमणमुक्त हुनेको संख्या १ करोड ५६ लाख ८४ हजार ४६ पुगेको छ । कोरोना संक्रमणबाट भारतमा २ लाख ११ हजार ८५३ जनाले ज्यान गुमाइसकेका छन् ।

ब्राजिल कोरोना संक्रमणको उच्च प्रभावित देशको तेस्रो स्थानमा छ । त्यहाँ १ करोड ४६ लाख ६५ हजार ९६२ जनामा संक्रमण पुष्टि भएकोमा १ करोड ३१ लाख ९४ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४ हजार २८७ पुगेको छ ।

कोरोना संक्रमणबाट उच्च प्रभावित देशहरुको सूचीमा चौंथो स्थानमा रहेको फ्रान्समा अहिलेसम्ममा ५६ लाख १६ हजार ६८९ जना सङ्क्रमित भएका छन् । यहाँ ४५ लाख ३९ हजार ९०९ जना भाइरसमुक्त हुँदा १ लाख ४ हजार ५१४ जनाको मृत्यु भएको छ ।

सूचिको पाँचौं स्थानमा रहेको टर्कीमा ४८ लाख २० हजार ५९१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ४० हजार १३१ जनाको मृत्युहुँदा टर्कीमा ४३ लाख २३ हजार ८९७ जना निको भएका छन् ।

कोरोनाको उच्च प्रभावित मुलुकको छैठौँ स्थानमा रहेको रुसमा ४८ लाख १४ हजार ५५८ वटा संक्रमणका केश भेटिएका छन् । त्यहाँ आजसम्म १ लाख १० हजार ५२० जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ भने ४४ लाख ३६ हजार ५८३ जना निको भएका छन् ।

नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण व्यापक रुपमा बढेको छ । शनिबार साँझसम्म ३ लाख २८ हजार ८९३ जना संक्रमित भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ भने २ लाख ८२ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । शनिबार मात्रै नेपालमा ५ हजार ७०६ नयाँ संक्रमित थपिएका थिए । शनिबार थप १९ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू