ओरालो लाग्दै ओलीटिक्स

ओरालो लाग्दै ओलीटिक्स

-पुरूषोत्तम पौडेल

ओलीटिक्स नेपाली माटोमा प्रयोगमा आएको नया वाम सिध्दान्त हो । यो सिध्दान्तले अरू कसैको अस्तित्व स्वीकार गर्दैन । यो सिध्दान्त नेपाली कम्युनिष्ट आन्दोलन भित्रैबाट विकाश भएको हो । सम्वृध्दीको लागी विकाश र विकाशको नाममा भ्रम ओलीटिक्सको चुरो अन्तर्य हो । नेपाली माटोमा हुर्किएर आएका उखान टुक्का हरूको अधिकतम प्रयोग वाट आम जनताको ध्यान तान्नु यसको कार्यनिती हो । कामकुरो एकातिर कुम्लो वोकी ठिमीतिर ओलीटिक्सको गन्तव्य हो । भजनिया हरूलाई पूर्ण लोकतन्त्र ( सात-खत माफ ) ओलीटिक्सको मुल विशेषता हो । आलोचकहरूलाई केवल घृणा र अपमानवाट परास्त गर्नु यसको कार्यनीति हो । विरोधीहरूलाई साम, दाम, दण्ड, भेद लगाएर सम्पूर्ण रूपले सफाया गर्नु ओलीटिक्सको रणनिती हो । ओलीटिक्समा प्रेम, सद्भाव र मित्रताको स्थान छैन ।

ओलीटिक्सको सिध्दान्त वहुदलीय जनवाद हो । मदन भण्डारीले अघि सार्नु भएको जनताको वहुदलीय जनवादवाट जनता भन्ने शब्द र त्यसको भाव हटाई दिए पछि ओलीटिक्सले भनेको वहुदलीय जनवाद हुन्छ । त्यसमा जनताको प्रतिनिधित्व र मूल्यको अर्थ रहदैन । त्यहा जनमुखी विचारको हिसाव पनि हुदैन । केवल ओली र ओलीटिक्सको जय जयकार र भजनको हिसाव किताव हुन्छ । उनको दल र उनका आफन्तहरूको लागी सधै जनवाद रहन्छ । उनको दल भित्रका पनि विशेष खासे-पासेहरूको लागी सम्पूर्ण जनवाद हुन्छ । अरूका लागी डनवाद लागु हुन्छ । त्यतीले पनि नपुगे गनवाद पनि लगाइन्छ । चर्चित डनहरूको संरक्षण र प्रवर्धन, धनाढ्यहरूको सेवा र ठुलाठालुहरू संग प्रेम पूर्वक सहयोगहरूको आदान प्रदान ओलीटिक्सको आर्थिक सिध्दान्त हो । देश भित्र फुटाएर शासन गर्ने पनि ओलीटिक्सको राजनितीको आधार हो । सत्ता टिकाऊन कुनै पनि विदेशी शक्तिको हर प्रकारले सेवा गर्न तयार हुनु ओलीटिक्सको नया आयामको विदेशनिती र राष्ट्रवाद हो । यसको सुन्दर प्रयोग अहिले भैरहेको छ ।

ओलीटिक्समा चुनावको सर्वाधिक महत्व हुन्छ । वेला न कुवेला चुनावको धम्की दिनु , दुई तिहाइको संसद भङ्ग गरेर भए पनि चुनावको घोषणा गर्नु अनी संसद पुनर्स्थापना भैसकेपछि पनि चुनावमा देखाउला भन्दै अरूलाई दपेटी रहनु ओलीटिक्सको नया निस्कर्ष हो । साइबर शेनाको प्रयोग गरेर आलोचक र विपक्षीहरूलाई सामाजीक संजाल मार्फत तेजोवध गर्नु ओलीटिक्सको निर्धारित प्रकृया हो । ओलीटिक्समा चुनाव जित्ने हतियार भएकाहरूको मात्र मुल्य हुन्छ । ओलीटिक्सका अनुसार चुनाव जित्ने प्रमुख हतियार भनेको मनि, मसल र माफिया हुन । ओलीटिक्सको लक्ष चुनाव देखी चुनाव सम्म हो । ओलीटिक्सको मुल मन्त्र सत्ता देखी सत्ता सम्म हो ।” एनी हाऊ मज्जाले दाम कमाऊ” को नारा ओलीटिक्सको सुखी नेपाली सम्वृध्द नेपाल वनाऊने मुल नारा हो । पार्टीका सवै आसेपासेहरूलाई सत्ता र शक्तिमा केन्द्रित गरेर कमाऊ-खाऊ धन्दामा लगाऊनु ओलीटिक्सको केन्द्रीय कार्यभार हो । यती, ओम्नी र अग्रवाल प्रकरण पछि अहिलेको कोभीड खोप कमिसन प्रकरण यसैको ताजा नमुना हो । अहिले ओलीटिक्सको असली प्रयोग यसरी भैरहेको छ ।

ओलीतन्त्रमा जनताको मुल्य हुदैन । जनता केवल मतदाता हुन्छन । जनता केवल श्रम गरेर सरकारलाई कर वुझाई दिने करदाता हुन्छन । पार्टीका कार्यकर्ताहरू चुनावका वेलाका प्रचारक हुन । पार्टी संगठनका वेला पथ-प्रदर्शक हुन । खास वेलामा उनिहरू गायक, वाचक र सहायक पनि हुन्छन । त्यसपछिका कार्यकर्ताहरू केवल नेताजीले अह्राएको काम गर्ने विसुध्द सेवक हुन । पार्टीका खास नेताहरू उनका वरिपरी घुम्ने प्रसंशक र सवारी व्यवस्थापक मात्र हुन । सरकार उनको सेवाको निम्ती खडा भएको संरचना हो । संवैधानिक अंगहरू उनका आफन्त र सेवकहरूको कृडास्थल हुन । प्रहरी प्रशासन उनका कामका सहयोगी र सेवाका निम्ती कृयाशिल रहने अंगहरू हुन । कसैलाई दाया-वाया गर्ने छुट छैन । दुनिया भाडमे जाय, मेरा काहा होना चाहिए । देश र जनताको जे सुकै होस । मेरो हुकुम चल्नु पर्छ । मेरो आदेश मान्नु पर्छ । यो नै ओलीटिक्स हो ।

अहिलेको लोकतन्त्र पनी ओलीटिक्सको उपज हो । संविधान पनी ओलीटिक्सकै कारण आयो । तसर्थ कानुन पनि उनकै लागी हो । उनले जे गर्छन त्यहि नै ठिक हो । देशको वजेट गजेट उनकै लागी हो । उनले भने अनुसार सवैले चलि दिनु पर्छ । उनलाई संविधान मिच्ने छुट हुनु पर्छ । उनलाई आफु अनुकुल कानुन वनाऊने र अध्यादेश ल्याऊन पूर्ण छुट र अधिकार हुनु पर्छ । राजनितिक नियुक्ती उनको एकल अधिकार क्षेत्र हो । उनको हित र अनुकुलका मानिसहरू राख्ने-छान्ने अधिकार उनलाई छ । पार्टी विधान र चुनावी घोषणा पत्र केवल दुनियालाई देखाऊनको लागी मात्र हो । काम गर्ने त उनले मात्र हो । ओलीटिक्सका अनुसार देशको संविधान, कानुन र पार्टीको विधान समेत उनको ईच्चा अनुसार चल्नु पर्दछ । चल्दैन भने त्यो काम लाग्दैन । संसदले उनको ईसारा बुझेन विघटन गरि दिए । अझै पनि संसदलाई निकम्मा र असफल वनाएर मिल्काई दिन कम्मर कसेर लागीरहेका छन उनी । उनको गन्तव्यमा आउने हर अडचनलाई मिल्काई दिन चहान्छन उनी । यो नै ओलीटिक्सको विशेषता पनि हो ।

पार्टीमा भित्र भएका अन्याय र अत्याचारको चर्चा गरि साध्ये छैन । सर्वोच्च अदालतको फैसला विपरीत पार्टी भीत्रका सिनीयर नेताहरूलाई पदच्युत गरेर गर्नु ताण्डव गरेका छन । आराम संग चलिरहेको पार्टीलाई भताभुङ्ग मात्र होईन, पुरै वरवाद गरेका छन । सरकार र देशको प्रगतीको वाटो असरल्ल पारेर अहिले आफै छटपटिदै हिडिरहेका छन । हिजोका दिनमा कोटेश्वरलाई कुनै वास्ता गर्नु परेको थिएन । कहिले काही यसो खुमल्टार गएर दुई चार शब्द खर्च गर्दा पुगीरहेको थियो । आज यिनी अनेक दिशा तिर छटपटीदै भोतारिई रहेका छन । कहिले ठाकुर निवास कहिले शीतल निवास पुगी रहेका छन । कहिले पशुपतिनाथ त कहिले बुढानिलकण्ठ तिर धाई रहेका छन । दुई तिहाइको हुकुम चलाएर आएका ओली अहिले केवल सरकार टिकाऊन कल्पी रहेका छन । मात्र झुटको साम्राज्य टिकाऊन झोली थापेर हिडी रहेका छन । अहिले त ओलीटिक्सको एजेण्डा नै नेताहरूलाई कार्वाही गर्नु भएको छ । अझ कार्वाही गरेर फुर्सद मिली रहेको छैन । आफ्नो सम्पूर्ण जीवन पार्टी निर्माणमा विताएका आफ्ना पार्टीका वरिष्ट नेताहरूलाई कार्वाही गरेर दिनु पिडा दिई रहेका छन । अनी भरखर भित्र्याएका आगन्तुकहरूका माग अनुसार पार्टी चलाऊने सपना देखी रहेका छन ।

दुनियामा हरेक चिजको निस्चीत सिमा हुन्छ । सिमा नाघे पछि त्यसको समाप्ती अनिवार्य हुन्छ । अती गर्नु ,अत्याचार नगर्नु भन्छन । अत्याचारले विनास लीला निम्त्याऊछ । उम्लनुको पनि हद हुन्छ । भाडोको साइज भन्दा माथी गएपछि हरेक चिज पोखिन्छ । अर्थात वढि उम्लनुको अर्थ पोखिनु हुन्छ । अहिले नेपाली राजनितीमा देखीएको ओलीटिक्सले पनि सिमा नाघी सकेको छ । ओलीहरूको अहंकारमा आधारित एकल सत्ता र पार्टी संचालनको तौर तरिकाले सिमा मिची सकेको छ । उनको सत्ता कब्जा र पार्टी कब्जाको उल्लासले अव पोखिने क्रम सुर गरि सकेको छ । पापको घैटो भरिई सकेको छ । हरेक चिजको सेचुरेसन हुन्छ । ओलीटिक्सको पनि अव सेचुरेसनको अवस्था आई सकेको छ ।

हिजो सातै प्रदेशहरूमा आरामले दुई तिहाइका सरकार चलीरहेका थिए । कुनै पनि प्रदेशमा खास समस्या थिएन । वुध्दी पुर्याएको भए दुई नम्बर प्रदेशमा पनि आफ्नै सरकार वन्न सक्ने अवस्था थियो । आज सवै प्रदेशहरूमा सरकार टिकाऊन यीनका आफ्नाहरूको रोई कराई चलीरहेको छ । कर्णाली प्रदेश फुत्की सकेको छ । सुदुर पस्चीम प्रदेशको हालत ओली विरूध्द गइसक्यो । गण्डकी प्रदेशमा जालझेलको त्यान्द्रोले मात्र सरकार अड्केको छ । लुम्वीनी प्रदेशमा आफ्नै सभासदहरूको राजीनामाले अल्पमतमा परेको सरकार कती समय टिक्ने हो थाहा छैन । यही तालले चल्ने हो भने वाग्मती प्रदेश समेत खतरामा जान सक्छ । अनी ओलीजीको दम्भ र ओलीटिक्सको अहमको दशा के हुने होला ? वाच्न मात्र सक्नु पर्दछ । दुनीयामा के के देख्न पाइने हो । रियलमा यहि रहेछ । अती गरे खेती हुन्छ भनेको । यहि रहेछ सिमा नाघे पछि समाप्ती हुन्छ भनेको । यस्तै रहेछ उम्ले पछि पोखिन्छ भनेको । समयमा चेतना भया ।

२३ वैशाख २०७८ ,

टिप्पणीहरू