माधव नेपालसँगको सहकार्य टुटेको छैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले बरिष्ठ नेता माधव नेपालसँगको सहकार्य नटुटेको बताउनुभएको छ । उहाँले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसंगको संघर्ष जारी रहेकाले अग्रगामी शक्तिहरुबीच सहकार्यको खाँचो औंल्याउनुभएको हो ।
सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो ? भन्ने जिज्ञासामा उहाँले अहिले नै धोका भयो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिनुभयो ।
‘अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौं । उहाँहरुभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरु पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनुभएकाले धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ’, उहाँले भन्नुभयो,’ म आशा गर्छु उहाँहरुले सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु ।’
प्रधानमन्त्री ओलीको सरकारविरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लाग्नुभएका अध्यक्ष प्रचण्डले ओली पुन: प्रधानमन्त्री बनेपछि संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने पनि बताउनुभयो ।
उहाँले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चुनौतिपूर्ण पनि छ संभावनायुक्त पनि छ । हामी आफ्नो ढंगले अघि बढ्छौ । संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसंगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतल गलत कामको आलोचना हुन्छ । जनताको राहत दिने र संविधान र राष्टको बचाउको पक्षमा हामी निरन्तर संघर्षमा हुन्छ ।’
उहाँले असंबैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने बताउनुभयो । ‘संबैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो । संविधान अनुसार हुने चुनावमा हाम्रो सहभागीता हुन्छ’, प्रचण्डले भन्नुभयो ।
टिप्पणीहरू