ओली–भण्डारी कदम मानवीय संवेदनाहीन : विवेकशील साझा
विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको संसद् विघटन संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता सञ्चालन गर्ने ओली- भण्डारीको पुरानै आकांक्षाको सुनियोजित निरन्तरता रहेको ठहर गरेको छ ।
उसले कोभिड–१९ ले मुलुक आक्रान्त भएको,औषधी, अक्सिजन,अस्पताल–शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन भएको विवेकशील साझा पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले निश्कर्ष निकालेको छ ।
उसले भनेको छ ‘मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार छन् । परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउन परिरहेको छ ।’
पार्टी प्रवक्ता शरदराज पाठकले हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘विवेकशील साझा पार्टी प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठपूर्ण ढङ्गबाट लोकतन्त्रविरुद्ध गरिरहेको निरन्तर प्रहारको एकबद्ध भएर विरोध गर्न सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गर्दछ ।
टिप्पणीहरू