सरकार भन्छ : कोरोना उपचार निःशुल्क तर जनमैत्री अस्पतालमा शुल्कैशुल्क

सरकार भन्छ : कोरोना उपचार निःशुल्क तर जनमैत्री अस्पतालमा शुल्कैशुल्क

सरकारले कोरोनाको दोस्रो लहर शुरु भएपछि संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन दिएको छ । निजी अस्पतालहरुलाई पनि न्यूनतम शुल्कमा उपचार गर्न भनिएको छ ।

तर यसबीच निःशुल्क उपचार धेरै टाढाको विषय बनेको छ । निजी अस्पतालले न्यूनतम शुल्कमा समेत संक्रमितको उपचार गरेको देखिँदैन ।

त्यस्तै अस्पतालको सूचीमा सामेल भएको छ-काठमाडौँको बालाजुस्थित जनमैत्री अस्पताल । जसले सरकारको निर्देशनलाई बेवास्ता गर्दै संक्रमितहरुको उपचारमा चर्को शुल्क उठाइरहेको छ । अस्पतालले हातमा लगाउने पञ्जा (ग्लोब्स) र मुख पुछ्ने कागजको चिसो रुमालदेखि अक्सिजनसम्मको शुल्क बिरामीहरुसँग निर्वाध उठाएको देखिन्छ ।

हालै उक्त अस्पतालमा एक साता उपचार गराएर घर फर्केकी नवलपरासीकी एकजना बिरामीले अस्पताल शुल्क २ लाख १५ हजार रुपैयाँ र औषधी खर्च झण्डै ७२ हजार गरी पुग नपुग ३ लाख रुपैयाँ तिरेकी छन् ।

अस्पतालले भर्ना भएको अवधिभर डाक्टरले बिरामी भेटेको जम्मा १७ हजार,बेड चार्ज १ लाख ३७ हजार,ल्याब शुल्क ४० हजार १ सय र अक्सिजन चार्ज झण्डै ३४ हजार शुल्क गरी २ लाख २८ हजार रुपैयाँको बील थमाएको देखिन्छ । त्यसबाहेक औषधीवापत ७२ हजार रुपैयाँ तिराइएको छ ।

यो सबै गर्दा एक साता अस्पतालमा बसेर सामान्य उपचारमा बिरामीको आफन्तले ३ लाख रुपैयाँ तिरेको देखिन्छ । औसतमा उनले दिनको ४५ हजार र प्रति घण्टा पुग नपुग २ हजार रुपैयाँ खर्च गर्नुपरेको रहेछ ।

सबैभन्दा रमाइलो पक्षचाँहि अस्पतालले नेपाली बिरामीसँग अमेरिकी डलरमा हिसाब गरेको छ । अस्पतालले बिरामीको आफन्तसँग १ हजार ९ सय ५२ डलर र ६० सेण्ट अमेरिकी डलरमा हिसाब गर्नुको अर्थ डलरमा कारोबार गरेको प्रष्ट हुन्छ । त्यसरी अमेरिकी डलरमा कारोबार गर्नुको प्रयोजन भने खुलेको पाइन्न ।

टिप्पणीहरू