केन्द्रीय सरकारले नहेरेको भन्दै आफै कस्सिए स्थानीय

केन्द्रीय सरकारले नहेरेको भन्दै आफै कस्सिए स्थानीय

ओली नेतृत्वको संघीय सरकार मात्रै होइन,प्रदेश सरकारहरू पनि कोरोना कहरमा जनतालाई राहत दिन दिनानुदिन नाकामयाब सावित हुन थालेपछि मोरङका एक दुईवटा स्थानीय तहले उपल्ला सरकारले गर्न नसकेका काम गर्ने हिम्मत जुटाएका छन् ।

बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाले आफैं कोरोनाको खोप खरिद गरी जनतालाई लगाउन केन्द्रीय सरकारसँग स्वीकृति मागेका हुन् ।

माधवकुमार नेपालनिकट बेलबारी नगरपालिकाका मेयरले १८ वर्षदेखि ४० वर्षसम्मका ४० हजार नागरिकलाई पहिलो र दोस्रो चरणको गरी ८० हजार खोप आवश्यक रहेको भन्दै पूर्व स्वीकृतिका लागि जेठ १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेका छन् ।नगरपालिकामा कोरोना संक्रमण दर उच्च हुँदै गएको र संघीय सरकारको मात्र भर पर्दा धेरैको ज्यान जान सक्ने जोखिम भएकाले आफ्नै स्रोतमा खरिद गरेरै भए पनि नगरवासीलाई कोरोनाबाट बचाउन यस्तो निर्णय गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।खोप खरिदको स्वीकृति पाएपछि प्रक्रिया शुरु गरिने उनको भनाइ छ । त्यसैगरी,केराबारी गाउँपालिकाले पनि ४० हजार डोज खोप आफैं खरिदका लागि स्वीकृति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

कोरोनाको जोखिम उच्च रहेको र १८ वर्षमाथिका २० हजार गाउँपालिकावासीलाई आफ्नै स्रोतबाट दुई चरणको खोप लगाउनुपर्ने भन्दै गाउँपालिकाले मन्त्रालयमा पत्राचार गरेको हो ।

पत्रमा कोरोना नियन्त्रणका लागि खोप प्रभावकारी देखिए पनि संघीय र प्रदेश सरकारबाट पर्याप्त खोप उपलब्ध हुन नसकेकाले गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने १८ वर्षमाथिका नागरिकको जिउज्यान र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफ्नै स्रोतबाट खोप लगाउने तयारी गरिएकाले दुई चरणका लागि ४० हजार खोप खरिदको स्वीकृति प्रदान गरिदिन अनुरोध गरिएको छ ।

नेपाली काङ्ग्रेसनिकट केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले हस्ताक्षर गरी जेठ १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गरेको पत्राचारको बोधार्थ प्रधानमन्त्री कार्यालय,प्रदेश १ मुख्यमन्त्रीको कार्यालय र प्रदेश १ कै सामाजिक विकास मन्त्रालयलाई समेत पठाइएको छ ।

अम्बिका भण्डारीबाट

टिप्पणीहरू