निषेधाज्ञा,मेयर र त्रिशुली नदी दोहन
कोरोना रोक्नको लागि लगाइएको निषेधाज्ञाको समय भएपनि नुवाकोटमा यही मौकामा त्रिशुली नदीको दोहन भइरहेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको संरक्षणमा कार्यकर्ताबाट नदीको अवैध उत्खनन भइरहेको छ ।
विदुर नपा–३ सिरखाडीस्थित त्रिशुली नदी किनारमा अवैध रुपमा दुई वटा स्काभेक्टर प्रयोग गरेर नदीजन्य सामग्री ग्राबेल, ढुङ्गा,बालुवाको नौ वटा ट्रिपरमार्फत् संकलन र नजिकै फिरफिरेमा लगेर भण्डारण गर्ने काम जारी छ ।स्थानीयवासी केहीलाई आर्थिक प्रलोभन देखाइएको छ भने नपाएकाहरुले बिरोध गरेपनि निरन्तर उक्त काम चलिरहेको छ । निषेधाज्ञाको समय नुवाकोटमा त्रिशुली नदी उत्खननको अवसर बनेको सिरखाडीका प्रभावित स्थानीयवासीको गुनासो छ ।
“अबैध कार्य भैरहेको गुनासो पटक पटक गरेपछि बल्ल देवीघाटबाट पुगेको प्रहरी टोलीले एउटा स्काभेक्टरमा ताला लगाई बाँकीलाई छाडिदियो ।” एक स्थानीयले भने “सञ्जु पण्डितका मान्छे हौँ भन्दै आउनेहरुले दिनरात गरेको उत्खनन प्रहरीले देखेपनि वास्तै गर्दैन ।”नगरपालिकाको दबाब तथा उत्खनन् गर्नेहरुसँगको स्वार्थको कारण प्रहरीले पनि बेवास्ता गरेसँगै त्रिशुली नदीमा अवैध उत्खनन भैरहेको हो । प्रहरीले जेठ १० गते मध्यान्ह १२ बजे उत्खनन गरिरहेको बा.२ क ७१५९ नं. को स्काभेक्टरमा ताला लगाई कारबाही गर्न सोही दिन विदुर नगरपालिका पठाएपनि उल्टै नगरपालिकाले दिनको २ बजे दुई थान स्काभेक्टर र थप ९ वटा ट्रिपरलाई जेठ २५ गतेसम्म नदी किनारबाट ढुङ्गा निकाल्न अनुमति दिएको पत्र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले प्रहरीलाई थमाएका छन् ।
उक्त पत्रअनुसार विदुर नगरपालिका–६ का सुरज थापालाई उत्खनन गर्न अनुमति दिइएको हो । निजले के कति निकाल्ने,किन निकाल्ने,कहाँ प्रयोग हुने,उत्खनन राजश्व के-कति दरमा दिएको केही उल्लेख नगर्नुले अबैध काममा विदुर नगरपालिकासहित विशेष गरेर नगरप्रमुख सञ्जु पण्डितको संरक्षण रहेको बुझिएको छ ।
नेकपा एमालेबाट मेयर जितेका पण्डित हाल माधवकुमार नेपाल समूहतिर लागेका छन् । उनले कार्यकर्तालाई खर्च व्यवस्थापन तथा आफ्नो समर्थन बढाउन नगरभित्र प्राकृतिक स्रोतको दोहन तथा उत्खननमा कार्यकर्तालाई प्रयोग गर्दै आएको आरोप छ ।
टिप्पणीहरू