अस्पतालहरुलाई उर्दी : एक साताभित्र खर्च विवरण देखाउनु
बिरामीहरुको उपचारबापत लाग्ने खर्चको विवरण सार्वजनिक गर्न सरकारले अस्पतालहरुलाई कडा निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक पत्र जारी गर्दै सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाद्वारा जारी पत्रमा अस्पतालहरुले बिरामीको उपचारमा चर्को शु:ल्क लिएको गुनासा आएकोले गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
‘कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारवापत चर्को शु:ल्क लिने गरेको,अक्सिजनको समेत अत्याधिक शु:ल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको,उपचारका लागि आवश्यक सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैलाई लगाउने गरेको,आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाएको लगायतका गुनासा प्राप्त हुन आएकाले सो सम्बन्धमा यस मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ”,पत्रमा भनिएको छ ।
बिरामीको उपचारवापत लाग्ने खर्चको जानकारी पाउनु सबैको अधिकार हुने भन्दै मन्त्रालयले उपचार खर्च सार्वजनिक गर्नु अस्पताल तथा स्वास्थ्य संस्थाको कानुनी र नैतिक कर्तब्य हुने बताएको छ ।
मन्त्रालयले सात दिनको समय दिएर अस्पतालले दिने सेवाको प्रकार र सोवापत लाग्ने खर्चको सूची आ-आफ्नो अस्पतालको वेवसाइट, सूचना पाटीमा सबैले देख्ने गरी राख्न र मूल्य सूचिको जानकारी ईजाजतपत्र दिने तथा नविकरण गर्ने निकायमा पठाउन पनि भनेको छ ।
टिप्पणीहरू