सुशासन यही हो त प्रधानमन्त्रीज्यू !
उपसचिव तहको कर्मचारीले मन्त्रीदेखि प्रशासकसम्मलाई कसरी हल्लाउँछन् भन्ने उदाहरण खोज्न टेकुतिर पुगे हुन्छ ।
कोही कर्मचारी यस्ता पनि हुन्छन् जसलाई चार,पाँच महिनाभन्दा बढी कहिँ टिक्नै दिइँदैन,खेदिहालिन्छ । अनि टेकुस्थित एउटा सरकारी अड्डामा यस्ता कर्मचारी पनि छन् जो १५ बर्षदेखि कतै गएकै छैनन् ।
बल्ल तल्ल तिनको सरुवा प्रक्रिया शुरु हुन्छ तर चिठ्ठी नै बाटोबाटै गायब । यस्तै अर्काे जब्बर स्वास्थ्य सेवाका उपसचिव (१० औं तहका कर्मचारी) छन् जसले स्वास्थ्य मन्त्रालय नै हल्लाइरहेका छन् ।
स्वास्थ्य मन्त्रालय मातहतको भन्सार भनेर चिनिने राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रमा कार्यरत छन् कुञ्ज जोशी ।
स्वास्थ्यअन्तर्गत करोडौं बजेट खेलाइन पाइने यो ठाउँबाट उनले ०६३ सालदेखि हलचल हुनुपरेको छैन । एकछत्र यहीँ बसेर राज गरिरहेछन् । जसलाई तीन पटक मन्त्रालयले अन्यन्त्रै सरुवा गरिसक्यो तर पावर लगाएर त्यहीँ अडिरहेका छन् ।
यस अघि जोशीको सरुवा स्वास्थ्य तालिम केन्द्र सुर्खेत र पोखरामा भएको थियो । दुबै पटक मन्त्रालयले पठाएको चिठी बाटैबाट गायब गराएर शिक्षा, सूचना तथा सञ्चार केन्द्रमै रमाएका उनले तेश्रो पटक पनि उसैगरी सरुवाको चिठी बाटैबाट गायब गराएका छन् ।
सरुवा भएर तालिम केन्द्रमा जाँदा एकातिर आम्दानीको स्रोत सुक्ने, अर्काेतिर विगतमा आफूले गरेका कर्तुत र बदमासी खुल्ने भयका कारण सरुवाको चिठी नै बीचबाटै गायब गराएको स्वास्थ्यका अधिकारीहरु सुनाउँछन् ।
स्वास्थ्य सेवामा मात्र होइन,त्यस्ता विकृतिका बान्की प्रशासन क्षेत्रमा पनि उस्तै छ । जस्तो बालाजुस्थित नापतौल तथा गुण नियन्त्रण विभागका हाकिम विश्वबाबु पुडासैनी दश बर्षदेखि एउटै अड्डा चलाएर बसिरहेका छन् । व्यापारीको स्वार्थअनुसार काम गरिरहेछन् ।
जबकि निजामती सेवा नियमावलीले एउटा कर्मचारीलाई बढीमा एउटा कार्यालयमा दुई बर्षभन्दा बढी बस्न दिँदैन ।
तर पावर र पहुँच हुनेहरुलाई यस्ता नियमावलीले केही लछार्दैन रहेछ ।
टिप्पणीहरू