बैद्यले माफी मागेको पत्रमा अर्कै सांसदको नाम
शुक्रबार प्रधानमन्त्रीविरुद्ध चर्को अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित हुनुभएका बागमती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले लिखित रुपमा आफ्नो अभिव्यक्ति फिर्ता लिनुभएको छ । अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखलाई अनुरोधसमेत गर्नुभएको छ ।
आज जारी विज्ञप्तिमा उहाँले बागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफलको क्रममा प्रधानमन्त्रीविरुद्ध आफूले दिएको अभिव्यक्ति नेपाली काँग्रेसले फिर्ता लिन निर्देशन गरेकोले फिर्ता लिएको जानकारी दिनु भएको हो ।यस्तै आफूले बोलेको क्षण विभिन्न सामाजिक सञ्जालमा उपलब्ध भिडियो हेर्दा कूटनीति र संसदीय मर्यादा विपरित रहेको आफैँले महसुस गरेको विज्ञप्तिमा बताउनु भएको छ ।
तर उहाँले जारी गर्नुभएको विज्ञप्तीको अर्को कुनामा माननीय जीवन डंगोलको नाम उल्लेख छ । डंगोललाई पनि वैद्यको जस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ (क) भनिएको छ ।
जबकि एउटा निर्वाचन क्षेत्रमा प्रदेशको निम्ति दुई जना सांसद रहने व्यवस्था छ । त्यसमा एउटालाई (क) र अर्कोलाई (ख) भनिन्छ । पत्रमा वैद्य र डंगोल एउटै निर्वाचन क्षेत्रको (क) उल्लेख गर्नु अर्को उदेकलाग्दो देखिएको छ ।
टिप्पणीहरू