प्रहरीलाई ढुङ्गा हान्नेदेखि गाई काट्नेसम्म पक्राउ
प्रहरीलाई ढुङ्गा प्रहार गर्ने तीन जना तथा गाई काट्ने दुई जना गरी पाँच जना पक्राउ परेका छन् । धनुषामा अवैध घरेलु मदिरा उत्पादन गरेकालाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई ढुङ्गा हान्ने तथा भोजपुरमा गाई काट्नेहरु हिजो पक्राउ परेका हुन् ।
धनुषाको धनुषाधाम नगरपालिका–९,धारापानीका ३० वर्षीया सुशीला थापालगायत तीन जनाले अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र मदिरा नै तयार गरेको सुराकीका आधारमा नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गरेका थिए । उनीहरुले उल्टै प्रहरीलाई मदिरा समेत छ्यापेका थिए ।
उनीहरुले प्रहार गरेको ढुङ्गा लागेर एक जना प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीको सिसासमेत फुटेको छ ।
उता, गाई काटेको अभियोगमा भोजपुरमा दुई जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका–४ एक्लेटोलका २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँका ६० वर्षीय पूर्णबहादुर तामाङलाई गाई काटेको अभियोगमा प्रहरीले हिजो पक्राउ गरेको हो ।
पूर्णको गुवाली घरमा गाई काटेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चिकित्सक समेतको टोलीले उनीहरूलाई १ सय ५० किलो गाईको मासु, टाउको र खुट्टासहित नियन्त्रणमा लिएको थियो ।
टिप्पणीहरू