कोटेश्वर–जडीबुटी सडकखण्ड यो वर्ष पनि उस्तै
कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम चालु आर्थिक वर्षको अन्त्यसम्म सक्ने लक्ष्य राखिए पनि हालत उस्तै हुने भएको छ ।
सरकारले ट्राफिक जामलाई व्यवस्थित गर्न कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम अघि बढाएको थियो । चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको बताइएको छ ।
तुँदी,सुसन जेभी निर्माण कम्पनीले ७ करोड रुपैयाँ लागतमा २०७८ सालको असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो । हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन कार्यालय, काठमाडौंका प्रमुख इञ्जिनियर कुबेर नेपालीले बताउनुभयो ।
उहाँका अनुसार निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध पुगेको हो । मौसम राम्रो भए यसै आर्थिक वर्षभित्र कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ विस्तारित तीन लेन बराबरको भागमा कालोपत्रे गर्ने बताइएको छ ।
उहाँले भन्नुभयो ‘हरियाली क्षेत्र र फुटपाथ बनाइने छ । देब्रेतर्फ एउटा निजी घरको मुआब्जासम्बन्धी कानुनी समस्याका कारण अल्झिएको काम भने सम्पन्न हुनेछ ।’
टिप्पणीहरू