गर्भवतीको मृत्युपछि ज्योति अस्पतालमा बबाल
काठमाण्डौंको कालिमाटीस्थित ज्योति अस्पतालमा गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएपछि बिरामीका आफन्तले आक्रोश पोखेका छन् । अस्ति गर्भपतन गराउन अस्पताल भर्ना भएकी रामेछाप दोरम्बा गाउँपालिका ६ की २५ वर्षीया गीता घिमिरेको हिजो मृत्यु भएको हो ।
बिहान करिब ११ बजे भर्ना भएकी उनको अवस्था जटिल भएपछि बेलुका ८ बजे थप उपचारको निम्ति ग्वार्कोको बीएण्डबी अस्पताल रिफर गरिएको थियो । बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भए पनि ज्योति अस्पतालको लापरबाहीको कारण गर्भवतीको मृत्यु भएको भन्दै आफन्तहरुले हिजोदेखि अस्पतालमा बिरोध प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तहरुले अस्पतालमा नाराबाजी र बिरोध जारी राखेपछि हाल ज्योति अस्पताललाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले सुरक्षा दिइरहेको छ । हिजो अस्पताल प्रशासन र पीडित पक्षबीच सहमतिको निम्ति वार्ता भए पनि कुनै निश्कर्षमा नपुगेको बताइन्छ । सहमति नहुञ्जेल आफूहरुले आन्दोलन जारी राख्ने मृतकका आफन्तले बताएका छन् ।
टिप्पणीहरू