उपत्यकाका कुन कुन ठाउँमा खतरा ?

उपत्यकाका कुन कुन ठाउँमा खतरा ?

मनसुनको सुरुआतसँगै देशभर बाढी पहिरोको प्रकोप बढ्न थालेपछि सशस्त्र प्रहरीले उपत्यकाका सम्भावित जोखिमयुक्त ठाउँ पहिचान गरी उध्दार टोली परिचालन गर्ने भएको छ ।

बाढी पहिरोको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी थालिएको हो । प्रहरीले आजै उपत्यकाका जनप्रतिनिधिहरुको बैठक राखेर छलफल शुरु गरेको सशस्त्रका उपत्यका प्रमुख राजु अर्यालले बताउनुभयो । उध्दारका लागि प्रहरी टोली २४ घण्टा स्ट्याण्डबाई रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकले दक्षिणकाली नगरपालिकाका पहिरो जोखिम युक्त क्षेत्रहरु,बूढानिलकण्ठ नगरपालिकाको शिवपुरी क्षेत्र, गोकर्णको बालुवा ईलाका, साँखुको नाङलेझार ईलाकालाई पहिरोको जोखिमका रुपमा पहिचान गरेको छ । सशस्त्रले उक्त क्षेत्रमा उध्दार टोली खटाइसकेको छ ।

त्यस्तै,रिङ्गरोडभित्र कलंकी, टुकुचा खोला,हनुमन्ते खोला लगायतका ठाउँमा बाढीको जोखिम देखिएकाले बोटसहितको उध्दार टोली स्ट्याण्डबाइ राखिएको प्रहरीले जनाएको छ ।

आजै सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा उध्दार,राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । आज दिउँसो सिंहदरबारमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

अस्तिदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक,गुल्मी, मनाङ,रुपन्देहीलगायतका जिल्लामा बाढी पहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ । बाढीका कारण सिन्धुपाल्चोकमा मात्रै ठूलो धनजनको क्षति भएको छ भने राजमार्ग अवरुध्द हुँदा आवागमन प्रभावित भएको छ ।

टिप्पणीहरू