बाढी पहिरो प्रभावितको उद्धारमा सरकार उदासीन
विपक्षी गठवन्धनले बाढी पहिरो प्रभावितको उद्धार र राहत कार्यमा सरकार उदासीन बनेको आरोप लगाएका छन् । बाढी र पहिरोले देशभर जनजीवन प्रभावित भएको बेला सरकार गैरजिम्मेवार देखिएको भन्दै राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन विपक्षी दलका नेताहरुले माग पनि गरेका छन् ।
बिहीबार संयुक्त विज्ञप्ति जारी गरी विपक्षी पाँच गठबन्धनका शीर्ष नेताहरुले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं ।’ नेताहरुले प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरेको भन्दै सरकार गैरजिम्मेवार रहेको आरोप पनि लगाएका छन् ।
विपक्षी गठवन्धनले प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका काममा आ आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुयाउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघ संस्थाहरुलाई आग्रह पनि गरेका छन् ।
टिप्पणीहरू