बिचरा दीपक मनाङे !

बिचरा दीपक मनाङे !

आखिर राजनीतिले दीपक मनाङे जस्ता डनलाई पनि बिगारेरै छाड्यो । अहिले भर्खरै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो कि दीपक मनाङेले उहाँलाई धोका दियो । शायद होला पनि । अब मुख्यमन्त्री जस्तो मान्छेले भनेको कुरा होइन कसरी भन्ने ?

तर, दीपक मनाङेले धोका दिए भनेको सुन्दा मलाईचाहिँ अचम्म लागेको छ । हामीलाई पनि थाहा छ, दीपक मनाङे नेपालको गुण्डागर्दी क्षेत्रमा लागेको दशकौं भइसक्यो ।

यो क्षेत्रमा उनको आफ्नै खालको प्रतिष्ठा छ । उनले कतिलाई ठोके, कति अपहरण गरे, कति फिरौती मागे त्यो सबैलाई थाहा छ । तर दीपक मनाङेले जतिसुकै अपराधहरू गरे पनि आजसम्म कसैलाई धोका दिए भनेको चाहिँ मैले सुनेको थिइन ।

उनी डरलाग्दा डन भए पनि कसैलाई धोका दिने खालका डनचाहिँ होइनन् तर राजनीतिमा लागेपछि हेर्नोस्, तीनै वर्षमा धोका दिनेजस्ता काम पनि गर्न थाले । के यो उनलाई राजनीतिले बिगारेको होइन ? मात्र तीन वर्षमा एउटा सोझासिधा डनलाई झुत्रै हुने गरी बिगारिदियो ।

मलाई त लाग्छ, गएको तीन दशकसम्म डनगिरी गर्दा पनि नबिग्रेको दीपक मनाङेको इज्जत अहिले राजनीतिमा लागेको यो तीन वर्षमै शून्यमा झर्ला जस्तो छ । गत तीन दशकमा नभएको बदनामी अब यो तीन वर्षमा होला जस्तो छ । बिचरा !

टिप्पणीहरू