छ्या तिमी त कस्तो छाडा मान्छे ?
– वैकुण्ठ ढकाल
शनिबार बेलुका कार्यालयबाट घर पुग्नेबित्तिकै ‘फ्रेस’ भएर मोबाइलमा ‘क्लब हाउस’मा पसें । सररर मोबाइल स्क्रोलिङ गर्दा चिनेजानेकै साथीहरुले पठन संकृतिका विषयमा बहस चलाइरहेका थिए । केहीबेर अडिएँ । तरकारी केलाउँदै कार्यक्रम सुनिरहें । एकै बक्ताले अलि लामो बोलेपछि त्यहाँबाट बाहिरिएँ ।
फेरि एउटा शीर्षकले तान्यो– ‘छ्या तिमी त कस्तो ?’ शीर्षक देख्नेबित्तिकै यो ‘बडी सेमिङ’ को विषयमा तयारी पारिएको कार्यक्रम भएको भन्ने लख काट्न गा¥हो भएन । कार्यक्रम सुन्दै गएपछि दुई जनाको अनुभवले मन कटक्क बनायो । एक २२ वर्षीया युवती आफ्नो कालो छाला भएको कारण भोग्नु परेका समस्या अनि हेलाँहोचोको कारणले आफू पटक–पटक निराश हुनुपरेको बताइरहेकी थिइन् ।
त्यत्ति मात्रै हैन एक किशोरीले कालो छाला भएकै कारण आफूमाथि भएको दुव्र्यवहारका कारण पटक पटक आत्महत्याको प्रयास गरेको समेत ‘होस्ट’लाई म्यासेज गरेर बताएकी थिइन् । जो आफूमाथि भएको दुव्र्यवहारको प्रतिवाद गर्नु त परको कुरा खुलेर सार्वजनिक गर्न समेत सकिरहेका छैनन् तर जीवनलाई नै सिध्याउने चरणमा पुगिरहेका छन् ।
जुन व्यवहार अरुले आफूमाथि गर्दा अपाच्य हुन्छ, त्यही व्यवहार अरुमाथि नगर्नु धेरै समस्याको समाधान हो ।
हिजोआज सामाजिक सञ्जालमा क्लबहाउसको निकै चर्चा छ । अडियो बेस्ड सोसल मिडिया प्लाटफर्म क्लबहाउस गुगल प्ले स्टोरमा उपलब्ध छ । मार्च २०२० मा अल्फा एक्स्प्लोरेसन कम्पनीले पहिलो पटक यो एपलाई आईफोन प्रयोगकर्ताहरूका लागि सार्वजनिक गरेको थियो । पछिल्लो समय क्लब हाउस एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि सार्वजनिक गरिएको छ । यो एप ‘फाइभ मिलियन प्लस’ पटक डाउनलोड भइसकेको छ । निम्तो गरिसकेपछि मात्र आपसमा जोडिन सकिने अर्थात् इनभाइट वन्ली एपको रुपमा रहेको यो एपले प्रयोगकर्ताहरुको बीचमा संवाद खोज्न र सुन्न अनुमति दिन्छ ।
लाखौँ प्रयोगकर्ता रहेको क्लबहाउसका प्रयोगकर्तामा मार्क जुकरबर्गदेखि एलन मस्कलगायतका हस्तीहरु समेत छन् । क्लबहाउसको लोकप्रियता बढेसँगै अडियोमा आधारित सोसल एपप्रति रुझान बढ्दै गएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरले पनि अडियो फिचरको रूपमा रहेको स्पेसको पहुँच विस्तार गरेको छ । त्यस्तै, फेसबुकले अडियो च्याट फिचरको विकास गरिरहेको छ जसलाई मेसेन्जरमा जोड्न सकिनेछ । साथै माइक्रोसफ्टको लिंक्डइनले पनि अडियो फिचरमा काम गरिरहेको बताइन्छ ।
क्लब हाउसमा हरेक उमेर समूहका प्रयोगकर्ताहरुले निर्धक्क आफ्ना धारणा राखिरहेका छन् । ‘बडी सेमिङ’को शिकार भएर मृत्यु अंगाल्ने तहमा पुगेकालाई बाँच्नका लागि प्रेरणा दिइरहेको छ । यसको शिकार भएकाहरुले आफूलाई ‘फिट एण्ड फाइन’ राख्न गरेका कडा मेहनतको फेहरिस्त सुनाइरहेका थिए । यसले दिएको प्रताडना साँच्चै डर लाग्यो थियो ।
यो बहस सुनिरहँदा मैले पनि जानअञ्जानमा ‘बडी सेमिङ’ गरेको हुँला । त्यही लागेर शनिबार राति ९ बजेर १ मिनेटमा फेसबुकमा एउटा स्टाटस लेखें– ‘मैले औपचारिक फोरम वा कार्यस्थलमा अनौपचारिक नामले सम्बोधन गरेको छु ?’ अनौपचारिक ठाउँमा भन्नु र औपचारिक ठाउँमा भन्नु धेरै फरक हुन्छ । त्यही सार्वजनिक स्थल र कार्यस्थलमा ‘बडी सेमिङ’ गर्नुको असर निकै घातक हुन्छ । त्यही बीच एक जना साथीलाई म्यासेञ्जरमा मोटी भनेर सम्बोधन गरें । उताबाट नामले बोलाउनुस् अनि मात्रै बोल्छु भन्ने जवाफ आयो । योभन्दा अगाडि मोटी भन्दा पनि कुराकानी भएकै थियो । यसअघि कहिल्यै प्रतिवाद गरेकी थिइनन । तर अहिले शालीन तरिकाले प्रतिवाद गरिन्, यसले मलाई खुशी नै बनायो, अनि नामले नै संबोधन गर्ने अभ्यास गरें ।
कहिलेकाहीं अनौपचारिक संबोधन गर्दा आत्मीय अनुभव हुन्छ । कहिले त्यो सम्बोधनले नमीठो गरी बिझाउँछ । त्यसले सम्बन्ध सदाका लागि अन्त्य गरिदिन पनि सक्छ । सम्बन्ध मात्रै सकिए त ठीकै होला तर ‘बडी सेमिङ’का कारण जीवन नै सिद्धिने स्थिति निम्तने खतरा पनि आउँदो रहेछ । लिनेले सहज रुपमा लिइरह्यो भने ‘बडी सेमिङ’को मात्रा बढ्दै जाने र त्यसको परिणाम घातक निस्कँदो रहेछ । केही समयअघि टेलिभिजन कार्यक्रम ऐनामा ‘बडी सेमिङ’का विषयमा चर्चा गरिएको थियो । ‘बडी सेमिङ’का कारण र त्यसबाट ‘पीडित’ भएकाको पीडाले ‘पीडक’ को आँखा खुल्नु पर्ने हो । तर यहाँ त अरुलाई पीडा दिएर खुशी हुनेको संख्या पो ठूलो छ ।
केही महिनाअघि एपीवान टेलिभिजनको ‘रजतपट’ कार्यक्रमका प्रस्तोताले नायिका पूजा शर्मालाई लक्ष्यित गर्दै ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई…?’ भनिदिए । पूजा आफूमाथि ‘बडी सेमिङ’ र दुव्र्यवहार गरिएको भन्दै न्यायका लागि चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थामा धाइन्, उजुरी दिइन् । यो प्रकरणले फिल्मवृत्त र सामाजिक सञ्जालमा हलचल ल्यायो । झण्डै दुई सातापछि पूजा र प्रस्तोता प्रकाश सुवेदीबीच सम्झौता भएको छ, त्यसअगावै सुवेदीले माफी मागिसकेका थिए । यस्ता अनेकौं उदाहरण छन् । कति बाहिर आउँछन्, कति आउँदैनन् । त्यो फरक कुरा भयो ।
कसैकोे रंग, जात, धर्म, पेशा, व्यवसायलाई लिएर होच्याएर रमाइरहँदा आफूमाथि कसैले त्यही विषयमा प्रहार गर्दा कत्ति ठूलो चोट पर्छ भन्ने कुराको हेक्का राख्नु जरुरी छ । जुन व्यवहार अरुले आफूमाथि गर्दा अपाच्य हुन्छ, त्यही व्यवहार अरुमाथि नगर्नु धेरै समस्याको समाधान हो । भनिन्छ नि जीब्रोमा लागेको चोट सबैभन्दा चाँडो निको हुन्छ तर जीब्रोले दिएको चोट कहिल्यै निको हुँदैन । यो कुरालाई सबैले हेक्का राखौं, बोल्नु अघि स्मरण गरौं ।
टिप्पणीहरू