मेलम्चीमा राहत गोदाममै थन्कियो, हेलम्बुका पीडित भोकभोकै

असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षती पुर्याएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा राहत लैजान समस्या भएको छ । मेलम्ची नगरपालिका केही ठाँउ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थलमार्गबाट राहत सामग्री लैजान समस्या भएको हो ।
बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ । त्यहाँ आजबाट मात्रै सडक सुचारु भएको छ । सडक नबन्दा हेलम्बु गाँउपालिकाको सिमानासम्म पनि सडकमार्गबाट राहत लैजान सकिएको थिएन । सडक सुचारु हुँदा हेलम्बुको चनौटेसम्म यातायात सञ्चालन गर्न सकिन्छ ।
चनौटेमा रहेको रातोपुल पनि जोखीमयुक्त भएपनि यातायात भने सञ्चालन भइरहेको छ । हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनस्थापनाको काममा सजिलो हुने बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको लागि एकद्वार नीति लागू गरेको छ । त्यसैकारण दाताले ल्याएको सबै राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा गोदाम गरिएको छ । गोदाम गरिएको सामाग्री पीडितको हातसम्म अझै पुग्न सकेको छैन ।
हेलम्बु गाँउपालिकामा लैजान भनी दाताले ल्याएको राहत सामग्रीसमेत मेलम्चीमा नै रोक्ने गरिएको छ । हेलिकोप्टरबाट पुयार्ईएका सामग्रीको मात्रै भर पर्नुपर्दा हेलम्बुका पीडितले आधारभूत आवश्यकताका सामग्री समेत पाउन सकेका छैनन् ।
हेलम्बु गाँउपालिकाभित्रका ६ वटा झोलुङ्गे पुल र ३ वटा पक्कि पुल पूर्ण क्षती भएको छ । बाँकी रहेको एउटा रातोपुलसमेत उच्च जोखिममा छ । सडक र सञ्चार सञ्जालबाट टाढिएको छ । नेपाल टेलिकमको मोबाइल सेवा बन्द जस्तै छ भने एनसेल चलाउने ग्राहकले समेत मोबाइल चार्ज गर्न पाएका छैनन् ।
विद्युत् आपूर्ति बन्द भएकोले सोलार बत्ती अहिले त्यहाँको प्रमख आवश्यकता भएको छ । नेपाली सेनाले हेलिकोप्टरमार्फत केही टेन्ट लगेर टाँगेको भएपनि त्यो पर्याप्त हुन सकिरहेको छैन । मेलम्चीमा राहतको थुप्रो लागेको भएपनि हेलम्बुमा भने आधारभूत आवश्यकता समेत पूरा हुन सकेको छैन ।
बाढीले अझै कटान गर्न छाडेको छैन । यस्तो अवस्थामा सडकमार्ग सुचारु गर्न विभिन्न प्रविधिको प्रयोग गरी बस्तीहरुलाई सडक सञ्जालसँग जोडिराख्न सकिएमात्र पीडितको आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ ।
टिप्पणीहरू