प्रभु साहकी श्रीमती पनि माओवादीको कारवाहीमा
![प्रभु साहकी श्रीमती पनि माओवादीको कारवाहीमा](https://janaaastha.prixacdn.net/media/albums/rina-saha_qoBF9fWOTS.jpg)
नेकपा माओवादी केन्द्रले पार्टी छोडेका पाँच जिल्लाका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई निश्कासन गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले तीन मेयरसहित १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निकालेको हो ।
माओवादी छोडेर एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहकी पत्नी रिनाकुमारी साह पनि माओवादीको कारवाहीमा परेकी छन् । उनी रौतहटको मौलापुर नगरपालिकाकी मेयर हुन् । माओवादी केन्द्रबाट मेयर जितेकी उनी एमालेमा गएकी थिइन् ।
कारवाही खानेमा तीन मेयरसहित चार जना उपमेयर,एक जना गाउँपालिका अध्यक्ष,दुई जना उपाध्यक्ष र चार जना वडाध्यक्ष छन् । माओवादीले उनीहरु सबैलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको हो ।
माओवादी केन्द्रका नेता लीलामणि पोखरेलका अनुसार कारवाहीमा पर्नेहरु कैलाली,रौतहट,सिराहा, महोत्तरी र ओखलढुंगाका स्थानीय तहका जनप्रतिनिधिहरु हुन् । कारवाहीबारे केन्द्रीय कमिटीको निर्णयको माइन्युट लिएर माओवादी केन्द्रीय कार्यालयका कर्मचारी सबिन्द्र पराजुली निर्वाचन आयोग पुगेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त गर्न आयोगले केन्द्रीय समिति बैठकको निर्णय मागेकाले माओवादीले आज अपर्झट बैठक बोलाएर त्यससम्बन्धी निर्णय गरेको थियो ।
यसअघि माओवादीले एमाले प्रवेश गरेका संघीय संसद र प्रदेशसभा सदस्यलाई पनि कारवाही गरेको थियो । राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।
टिप्पणीहरू