दलितमाथि नगरसभा स्थलमा धर्ना बस्दाबस्दै सरकारी दमन

-शंकर श्रेष्ठ
धादिङ सदरमुकाम नीलकण्ठ नगरपालिकाको नगर परिषद्स्थलमा धर्ना बस्न गएका दलित अगुवाहरुलाई प्रहरीले लखेटेको छ । नगरसभा शुरु हुनुअघि नै कार्यक्रमस्थल बाहिर धर्ना बसेका तिनलाई प्रहरीले तितरबितर पारेको हो ।
निःशुल्क शिक्षाका लागि १२ बुँदे माग राखेर ४ महिनादेखि धादिङका दलित अगुवा आन्दोलनरत छन् । नगरपालिकाले दलित समुदायको मागलाई बेवास्ता गरेको भन्दै उनीहरु हिजो नगरसभा स्थलमा नै धर्ना दिन पुगेका थिए । नगरपालिकाले भने नगरसभा नै बिथोल्ने नियतले दलित अगुवाहरु प्रस्तुत भएपछि प्रहरी परिचालन गर्नुपरेको जनाएको छ ।प्रहरीसँगको धकेलाधकेलमा दलित अगुवा रामबहादुर बस्याल र नवराज मजाकोटी सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले भने भीडभाड नियन्त्रण मात्रै गरेको बताउनुभएको छ । ‘निषेधाज्ञा छ,भीडभाड नगर्नुस् भन्दै धर्ना बस्नलाई मात्र रोकेको हो,’उहाँले भन्नुभयो ‘लाठीचार्ज भएको छैन,कोही घाइते पनि छैनन् ।’
दलित नेता गोपाल विश्वकर्माले भने महिनौंदेखि आफूहरुले माग लिएर नगरपालिका धाउँदा पनि सम्बोधन हुने छाँट नदेखिएपछि नगरसभा भएकै स्थानमा धर्ना दिन बाध्य भएको बताउनुभयो । हिजो आयोजित नगरसभाअघि नै शान्तिपूर्ण धर्नामा बसेका दलितमाथि मेयर भीमप्रसाद ढुंगानाको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको धर्नाकारीहरुले आरोप लगाएका छन् ।
‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५’ को परिच्छेद २ (८) मा ‘आर्थिक रुपले विपन्न, अपाङ्गता भएका र दलित नागरिकलाई निःशुल्क उच्च शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ’ भन्ने उल्लेख छ । तर,केन्द्र,प्रदेश वा स्थानीय सरकारको जिम्मेवारी प्रष्ट नभएकाले समस्या उत्पन्न भएको मेयर ढुंगानाको भनाई छ ।
‘संविधानमा निःशुल्क शिक्षा कसले प्रदान गर्ने भन्ने स्पष्ट व्याख्या छैन’,मेयर भन्नुहुन्छ,‘यो विषयमा छलफल भइरहेको छ, अवरोध गर्नुपर्ने कारणै छैन ।’
नीलकण्ठ नगरपालिकाले संविधान विपरित दलित समुदायको छात्रवृत्ति कटौती गरेको भन्दै दलितहरु आन्दोलनरत छन् । उनीहरुले संयुक्त दलित संघर्ष समिति बनाएर गत फागुनदेखि १२ बुँदे माग अघि सार्दै आन्दोलन गरेका हुन् ।
टिप्पणीहरू