उपप्रधानमन्त्रीको नागरिकता दिन मानेन बहादुर भवनले

निर्वाचन आयोगले नागरिकतासम्बन्धी विवरण दिन नमानेपछि सिंहदरबारको दक्षिणी गेटैमा उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोका नाममा “नयाँ पार्टी”ले सूचना टाँसेको छ ।
महतोले आफू नेपाली नागरिक भएको प्रमाण दिन नसकेको कारण देखाएर उनलाई सिंहदरबार प्रवेश निषेधको सूचना टाँस गरिएको हो । सो पार्टीले मन्त्री महतो सुडीलाई एक साताभित्र आफू नेपाली नागरिक भएको प्रमाण सार्वजनिक गर्न माग गरेकोमा त्यसो नगरिएपछि यस्तो सूचना टाँसेको जनाएको छ ।
पार्टीले निर्वाचन आयोगमा पुगेर महतोले २०५६ सालमा सर्लाही २ बाट,२०७० सालमा सर्लाही ४ बाट र २०७४ सालमा धनुषा ३ नम्बर क्षेत्रबाट उम्मेदवारी दिँदा पेश गरेको नागरिकताको कपी माग गरेको थियो तर आयोगका सचिव सुरेश अधिकारीले माथिको आदेशले दिन नमिल्ने र आफू अप्ठ्यारोमा पर्ने भन्दै छायाँ कपी दिन इन्कार गरेको सो पार्टीले जनाएको छ । ०६८ साल फाल्गुन १ र २९ गते गृह र अख्तियारले छानबिनका लागि सर्लाही जिल्ला प्रशासनमा पत्र पठाएका थिए ।
जिप्रकाले ०६२ चैत्र २३ मा जिप्रकामा आगलागी हुँदा प्रमाण नष्ट भएको झुट्टा बेहोरा लेखी पठाएको थियो ।
सो पार्टीले विदेशी नागरिकलाई सरकारको मन्त्री बनाइएका कारण अब सिंहदरबार प्रवेश निषेध गर्नेदेखि देशैभर निषेध र प्रतिकार गर्ने जनाएको छ ।
टिप्पणीहरू