नयाँ मन्त्रीहरुको भविष्य प्रधानन्यायाधीशको हातमा

प्रतिनिधिसभा विघटन र चुनाव घोषणापश्चात् जसपाका ११ र माओवादी छाडेका दुई जनालाई राखेर भए गरिएका मन्त्रिपरिषद विस्तार र पुनर्गठनविरुध्द परेका विभिन्न ६ वटा रिटमाथि अहिले सर्वोच्चमा सुनुवाई हुन लागेको छ । ती रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले प्रकाशकुमार ढुंगानासहितको आफ्नो इजलाश तोक्नुभएको छ । ढुंगाना प्रधानन्यायाधीशको खास मान्छेका रुपमा परिचित हुनुहुन्छ ।
यसअघि माओवादी छाडेर ओली सरकारमा सामेल ७ जना माओवादी मन्त्रीको पद प्रधानन्यायाधीशकै एकल इजलाशले खाइदिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ बनेपछि दुई पटक मन्त्रिपरिषद् बिस्तार गरिएसँगै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल,शालिकराम सापकोटा,सीतादेवी श्रेष्ठ लगायतका ६ जनाले रिट दायर गरेकामा यसअघि जेठ अन्तिम साता सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गर्दै सरकारी पक्षसँग लिखित जवाफ माग गरेको र त्यसपछि पुरक निवेदनसमेत दर्ता भएको थियो ।

यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको थियो ।
यता,कर्णाली प्रदेशका चार सांसदमाथि नेकपा (एमाले)ले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछिको भ्याकेट निवेदनउपर पनि आजै सुनुवाइ हुँदै छ।
जसको लागि डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलाश तोकिएको छ । सर्वोच्च अदालतले जेठ २७ गते कर्णाली प्रदेश सभाका चार एमाले सांसदलाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशमा सांसद एवं पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार एमालेको बिधानले नचिन्ने महाधिवेशन आयोजक कमिटीलाई नहुने ठहर थियो ।
यसअघि प्रधानन्यायाधीश बन्ने रोलक्रमका प्रकाशमान सिंह राउतको एकल इजलासले प्रकाश ज्वाला,अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको हो ।
टिप्पणीहरू