पदमुक्त भएका उपप्रधानमन्त्री महतोविरुद्ध अख्तियारमा उजुरी

सर्वोच्च अदालतको आजको अन्तरिम आदेशपछि उप तथा शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट पदमुक्त भएका जसपा नेता राजेन्द्र महतोको नागरिकता छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
आज अधिवक्ताहरु वीरभद्र जोशी,तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता छानबिन गर्न माग गर्दै उजुर हालेका हुन् ।
विवादास्पद अभिव्यक्ति दिँदै आएका महतोको नागरिकताबारे पछिल्लो समयमा सबैले प्रश्न उठाएका छन् । हिजो नै महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पार्टीले सिंहदरबारको दक्षिण गेटमा पर्चा नै टाँसेको थियो ।
आज दिउँसो सर्वोच्च अदालतको आदेशपछि उनीलगायत प्रधानमन्त्री केपी शर्मा ओली सरकारका २० जना मन्त्री जिम्मेवारीबाट मुक्त भएका छन् । संविधानतः कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले मन्त्रीमण्डल पटक पटक पुनर्गठन गरेपछि त्यसविरुद्ध अदालतमा रिट परेको थियो ।
टिप्पणीहरू