सर्वोच्चमा बोल्न आज क-कसलाई कति समय ?

प्रतिनिधिसभा विघटन सम्बन्धमा परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ ।
संसद बिघटनविरुद्ध दायर भएका ३० वटा रिटमध्ये २६ रिट प्रधानमन्त्री ओलीको विपक्षमा र ४ रिट पक्षमा छ । ती रिटउपर आजदेखि निरन्तर बहस हुन लागेको हो ।
बहसका लागि रिट निवेदक पक्षबाट तीन सय बढीले वकालतनामा बुझाइसकेको भए पनि तीमध्ये कम्तिमा १५ देखि बढीमा २० जनाले मात्र बहस गर्न पाउनेछन् ।
सर्वाेच्चले वादी र प्रतिवादी दुबैलाई यो बिषयमा बहस गर्नका लागि पन्ध्र पन्ध्र घण्टाको समय दिएको र समयको सीमाबन्दी लगाइदिएका कारण यसपटक वकालतनामामा नाम टिपाएका सबै कानून व्यवसायीले बहस गर्न पाउनेछैनन् ।
आजको बहसमा रिट निवेदकका तर्फबाट बरिष्ठ अधिवक्ताहरु खम्ब खाती,गोविन्द शर्मा बन्दी,महादेव यादव,बद्रीबहादुर कार्की र शम्भु थापाले बहस गर्नेछन् ।
बहसका लागि खातीलाई २० मीनेट,बन्दीलाई ४० मीनेट,महादेव यादवलाई ३० मीनेट,बद्रीबहादुर कार्कीलाई १ घण्टा र शम्भु थापालाई १ घण्टा ३० मीनेट समय दिइएको छ ।
आज संवैधानिक इजलाशमा ४ घण्टा समय यिनै बरिष्ठ अधिवक्ताहरुले लिनेछन् ।
सर्वाेच्चले निवेदकहरुलाई बहसका लागि जम्मा १२ घण्टा समय दिएको छ । दिनमा ४ घण्टाका दरले तीन दिनमा निवेदक पक्षबाट बहस सक्ने उनीहरुको तयारी छ ।
भोलि बिहिवारको बहसमा कृष्णप्रसाद भण्डारी,हरिहर दाहाल,मुक्ति प्रधान,रमण श्रेष्ठहरुले बहस गर्ने टुंगो लागेको छ । जसमध्ये रमण र हरिहर दाहालले एक एक घण्टा बहस गर्नेछन् ।
त्यसपछि पालो आउनेछ अधिवक्ता टीकाराम भट्टराई लगायतको ।
रिट निवेदक तर्फका अधिवक्ताहरुको बहस सकिएपछि सरकारी पक्षले पालो पाउनेछ । सरकारी पक्षबाट यसपटक पनि सुशील पन्तले नेतृत्व लिनेछन् । महान्यायाधिवक्ता रमेश बडालसहित सहमहान्यायधिवक्ता,नायब महान्यायाधिवक्ताहरुले बहस गर्नेछन् ।
सरकारी पक्षबाट ११ जनाले बहस गर्नेछन् । त्यसपछि केही निजी कानून व्यवसायीको पालो आउनेछ ।
दुबैतर्फका कानून व्यवसायीहरुको बहस सकिएपछि एमिकस क्युरीले बहस गर्नेछ । सर्वाेच्च बार र नेपाल बारबाट प्रतिनिधित्व गर्दै आएका दुबैतर्फका गरी ४ जनाले धारणा राख्नेछन् । जसका लागि जम्मा २ घण्टा निर्धारित छ ।
त्यसपछि रिट निवेदकतर्फकाले जवाफी बहसका लागि अरु तीन घण्टा समय पाउनेछन् ।
टिप्पणीहरू