जनआस्थाको समाचार प्रभाव : चेपाङ परिवारलाई थप राहत

जनआस्थाको समाचार प्रभाव : चेपाङ परिवारलाई थप राहत

-शंकर श्रेष्ठ

धादिङ्गमा केही दिनअघि खाद्यान्न अभाव भएको चेपाङ बस्तिका वासिन्दाको मुहारमा खुशियाली छाएको छ । ‘चेपाङ बस्तीमा अनिकाल,बालक,बृध्द सबै भोकभोकै’ शीर्षकको समाचार जनआस्था डटकममा पढेपछि दाताहरू खाद्यान्न सामाग्री लिएर विकट गाउँ पुग्न थालेसङ्गै महिनौंदेखि पेटभरि खान नपाएको बस्तीमा खुशीयाली छाएको हो ।

महिनौंदेखि गिठ्ठा भ्याकुरमा निर्भर लाइपुरका मानबहादुर मगर हिजोदेखि मख्ख छन् । एक बोरा चामल पाएका उनी भन्छन्,‘बोरै चामलले त मेरो बूढाबुढीलाई २ महिना मज्जाले खान पुग्छ ।’ चामल पाउँदा बाँसखोलाका फूलमती तामाङको झनै आँखाबाट खुशीको आँसु रोकिएको छैन । ‘एक हलको मेलो बारी छ,त्यसमा फलेको मकै पोलेर खान मात्रै ठिक्क हुन्छ’ ७६ वर्षिया फूलमतीले आँसु झाँर्दै भनिन्, ‘एक्लै बस्छु,एक धोक्रो चामलले त मलाई दशैंसम्म नै पुग्छ होला ।’ छोरा छुट्टिएर आफ्नै सुर गरेपछि अहिले आफू एक्लै परेको गुनासो छ उनको ।

घरमा अन्नपात सकिएर भोकमरीसँग पौठेजोरी खेल्दै जीवन धानिरहेका विकट बस्तीमा मंगलबार दाताहरूले खाद्यान्न पुर्याएका हुन् । धादिङको दक्षिणी भेगमा पर्ने बेनिघाट रोराङ–२,को लइपुर,खर्च,पान्चलिङ,भल्टार, थरीगाउँ र बासखोलाका विपन्न ६५ घर परिवारलाई प्रतिघर १ बोरा चामलसहित दाल,तेल,नून,चिनी, साबुन प्रदान गरिएको छ ।

घरमा खानेकुरा नभएपछि टाँकीको मुन्टा र गिट्ठा खाएर जीवनसँग संघर्ष गरिरहेका बस्तीमा खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेको हो । २० जना सहयोगीहरूबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताएकी छन् ।

दाताहरूबाट प्राप्त एक लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष टंक थापाले जानकारी दिनुभयो । जागरण मञ्चको टेलीसँगै लायन्स क्लब अफ काठमाडौंले पनि खाद्यान्नसहित लत्ताकपडाको समेत सहयोग उपलब्ध गराएको छ । विभिन्न दाताहरूबाट प्राप्त लत्ताकपडा विपन्न परिवारका सदस्यहरूलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।

बेनिघाट रोराङ गाउँपालिका–६, ८ र २ का अधिकांश गाउँमा अहिले अनिकाल लागेको छ । खोरिया खनेर उत्पादन गरेको अन्नपातले दक्षिणी भेगको महाभारत पर्वत शृङ्खला आसपासका स्थानीयलाई मुश्किलले पाँच महिना खान पुग्छ । बाँकी महिना उनीहरूले अभाव र भोकसँग जुध्दै आइरहेका छन् ।

यस क्षेत्रका अधिकांश परिवारले पेटभरि खान पाउँदैनन् । घरमा अन्नपात सकिएदेखि नै टाँकीको मुन्टा,काँचो आँप,आरु खाएर जीवनसँग संघर्ष गरिएका समाचार प्रकाशित भएका हुन् ।

निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको काम पनि रोकिएको छ । बारीको उब्जनी समेत सकिएको र काम गर्न नपाएका कारण विकट भेगका स्थानीय चेपाङ र अन्य जातिका सर्वसाधारण भोकभोकै परेका हुन् ।

टिप्पणीहरू