रुकुमका पशुको रुकुममै उपचार, अब अन्यत्र लैजान नपर्ने

रुकुमका पशुको रुकुममै उपचार, अब अन्यत्र लैजान नपर्ने

रुकुम पश्चिममा पशुवस्तुको स्वास्थ्य जाँचका लागि प्रयोगशाला भवन तयार भएको छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा अस्पताल रुकुम पश्चिममा करिब २१ लाखको लागतमा प्रयोगशाला तयार गरिएको हो ।

प्रयोगशाला भवनबाट अब बिरामी पशुवस्तुको सम्पूर्ण जाँच जिल्लामै हुने भएको छ । नवनिर्मित प्रयोगशालामा पशुवस्तुको एक्सरे गरिनुका साथै गोबर,पिसाब, रगत,दूधको जाँच हुने पशु अस्पताल तथा पशु सेवा अस्तालका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताए । उनका अनुसार यसअघि बिरामी पशुवस्तुको रगत,गोबर,पिसाब, दूध जाँचको लागि सुर्खेत, काठमाडौंसम्म पठाउनुपर्ने बाध्यता थियो ।

भवनका तीन वटा कोठालाई आगामी महिनादेखि सेवा सञ्चालन हुने गरी तयारी अवस्थामा राखिएको छ । प्रयोगशालामा अत्यावश्यक एक्सरे मेसिनलगायत रगत, गोबर, पिसाब,दूध जाँच गर्ने मेसिन समेत आईपुगेको छ । कर्णाली प्रदेश सरकारको २० लाख ९८ हजार रुपैयाँमा भवन निर्माण सम्पन्न भएको हो ।पशुपालनको लागि उत्तम मानिएको रुकुममा पशुवस्तु बिरामी परेमा उपचारको लागि देखिएको समस्या समाधान भएको अस्पतालका पशु स्वास्थ्य प्राविधिक वीरेन्द्र केसीले बताएका छन् ।

कार्यालयले चालु आवमा उठेको रकमबाट नर्सरीसमेत तयार गरेको छ । पशुवस्तुको आहाराको कमिलाई पूर्ति गर्न कार्यालयले घाँसका बिरुवा उत्पादन गर्ने नर्सरी तयार गरेको हो । नर्सरीमा उत्पादित घाँसे बिरुवा किसानलाई निःशुल्क वितरण भइरहेको केसीले बताएका छन् । उक्त

नर्सरीमा मेन्दोल,भटमासे, मोरंगा, बकाइनो,इपिलइपिल,बाँसपाते, सिडलेस किम्बु, सुपर नेमियर, मुलाटो, ग्वाटेमाललगायतका जातका घाँसे बिरुवा तयार गरिएको छ । दैनिकजसो जिल्लाका विभिन्न स्थानका किसानले नर्सरीबाट बिरुवा लैजान थालेको समेत कार्यालयले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख शर्माका अनुसार कार्यालयले नर्सरी बनाउन ५ लाख रुपैयाँ खर्च गरेको हो । घाँसको बीऊ तथा बेर्नाको लागि थप ५ लाख रुपैयाँ खर्च गरिएको छ ।

टिप्पणीहरू